कम्युनिस्ट सरकारको यी तमासाहरूले जनता निराश छन्ः रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वुहानमा कोरोना भाइरसको संक्रमणको महामारीले आतंक मचाएको त्यतिका दिन बितीसक्दा पनि कम्युनिस्ट सरकारले समयमै होस् पुर्याउन नसकेको आरोप लगाएका छन्
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा लिखित धारणा राख्दै पौडेलले चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरेको भन्दै कम्युनिस्ट सरकारको आलोचना गरेका हुन् ।
‘स्वास्थ्य उपकरण, औषधि र पीपीई लगायतका सामानहरूको जोहो गर्न नलाग्ने र समय भेड्किएपछि आफ्नो मोतोभित्रका ‘ओम्नी समूह’ जस्ता व्यापारिक समूहलाई खरीद प्रकृया समेत गोलमाल गरी अस्वाभाविक मूल्यमा गुणस्तरहीन सामान ल्याएर कमिसनको खेलमा ल्याउनु अपारदर्शीता र भ्रष्टाचारको योभन्दा नग्न उदाहरण के हुन्छ ? यो सरकारलाई भ्रष्टाचारी नभने के भन्ने ?’, उनले प्रश्न गरेका छन् ।
‘जताततैबाट भ्रष्टाचारको पोल खुल्न लागेपछि हतार हतार ‘ठेक्का खारेज’ भन्दै जनमतलाई अर्कोतिर मोड्ने र राष्ट्रको सुरक्षाको गहन जिम्मेवारी वहन गरेको राष्ट्रिय सेनालाई स्वास्थ्य सामग्री खरीद गर्ने व्यापारिक कार्य जिम्मा दिने सरकारको नियत माथि शंकैशंका किन नउठ्ने ?’, पौडेलले भनेका छन् ।
‘कोरोना महामारीले सिङ्गो राष्ट्र र विश्व नै आक्रान्त भएको बेलामा माहामारीको सामना गर्न सारा शक्ति लगाउन पर्ने ठाउँमा आफूमा सम्पूर्ण शक्ति केन्द्रित गराउने नियतका साथ संविधानको मर्म र भावना विपरित संवैधानिक परिषद् आफ्नो मुठ्ठीमा ल्याउने र पार्टीहरूमा तोडफोड मचाउने नियतले दल त्याग सम्बन्धी ऐन संशोधन गर्न अध्यादेशहरु जारी गर्न पुग्ने यो सरकारको प्रधानमन्त्री देशमा अस्थिरता, अराजकता र भाडभैलो मचाउने खराब नियतको प्रधानमन्त्री हो भनेर किन नभन्ने ?’, पौडेलले भनेका छन् ।
‘एकातिर त्यस्ता अध्यादेश जारी गर्ने, त्यसको सँगसँगै अर्काको पार्टी तोड्न सांसद अपहरण गर्न बाहुबलीहरु खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसीरहेको सांसदलाई आश त्रास देखाउँदै काठमाडौंं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन ? संविधानका संरक्षक राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कस्ले गर्ला ?’, पौडेलले भनेका छन् ।
‘आफू अपहरित भएको र आफ्नो सांसद अपहरित गरिएकोमा उजुर लिएर पुलिस र त्यसपछि सरकारी वकिल कहाँ उजुरी दर्ता गर्न जाने सांसद र नेताहरूलाई रित्तै फर्काउने यो सत्ता देशको कानूनी प्रकृयाको स्वयं बाधक र स्वेच्छाचारी तत्व नभए के हो त’, उनले भनेका छन् ।
‘यस्ता तमासाहरूको प्रदर्शनबाट आज देशका तमाम जनता निराश बनेका छन् । विकल्पको खोजी गरिरहेका छन्’, कांग्रेसका वरिष्ठ नेता पौडेलले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया