कम्युनिस्टहरू गुपचुप बसेका बेला कपिलवस्तुमा कांग्रेसलाई राहत वितरणमा अबरोध

कपिलवस्तु । लकडाउनबाट समस्यामा परेका मजदुर र अति विपन्न परिवारहरूलाई खाद्य सामग्रीसहितका राहत वितरणमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले नेपाली कांग्रेसलाई रोक लगाएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अतहर कमाल मुसलमानलाई प्रमुख जिल्ला अधिकारी पौडेलले फोन गरेर जथाभावी रुपमा राहत वितरण नगर्न चेतावनी दिएका हुन् । कपिलवस्तु कांग्रेसका अनुसार प्रमुख जिल्ला अधिकारी पौडेलले राहत वितरणमा रोक लगाएको बताए ।

तपाईले कांग्रेसका नेताहरूलाई फोन गरेर राहत वितरणमा रोक लगाउनु भएको हो भनेर सोधिएको प्रश्नमा प्रमुख जिल्ला अधिकारीले रोक लगाएको स्वीकार गरे ।

‘एकद्वार प्रणालीमार्फत मात्रै राहत वितरण गर्नुपर्छ भनेको हुँ’, उनले भने, ‘व्यक्तिगत रुपमा राहत वितरण गर्न पाइन्न । वितरण गर्दै परे स्थानीय प्रशासन, गाउँपालिकाका प्रमुख वा वडाध्यक्षहरूसँग समन्वय गरेर मात्रै वितरण गर्न भनेको हुँ ।’

संकटका बेला गुपचुप बसेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूलाई कांग्रेस नेताहरूद्वारा राहत वितरण गरेकोमा चित्त बुझेको छैन । नेकपाका नेताहरूकै दवावमा प्रमुख जिल्ला अधिकारी पौडेललाई राहत वितरणमा रोक लगाएको कांग्रेसको आरोप छ ।

यसअघि रसुवा, सिन्धुपाल्चोक, संखुवासभा लगायतका जिल्लामा कांग्रेसका नेताहरूलाई नेकपाका नेताहरूको दवावमा प्रमुख जिल्ला अधिकारीहरूले राहत वितरणमा अबरोधको प्रयास गरिसकेका छन् ।

खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले लकडाउन गरेपनि मजदुर र अति विपन्न परिवारहरूलाई राहत वितरण गर्न नसकेको भनेर आलोचना भइरहेका बेला कांग्रेसले राहत वितरण गर्दा नेकपाका नेताहरूलाई टाउको दुखाइ भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद मुसलमान, कपिलवस्तु कांग्रेस, तरुण दल, नेविसंघ सहित शुभेच्छुक संस्था र व्यक्तिको संयुक्त प्रयासबाट कपिलवस्तुको क्षेत्र नम्बर १ मा करिव ६ सय मजदुर र अति विपन्न परिवारहरूलाई राहत वितरण गरिसकेका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ मा वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका र सुधोदन गाउँपालिकामा कांग्रेसले राहत वितरण गरिसकेको छ ।

नेपाली कांग्रेस सुधोदन गाउँपालिकाका अध्यक्ष उलिउद्धिन मुसलमानले लकडाउनका कारण समस्यामा परेका मजदुर र अति विपन्न परिवारहरूलाई आफ्नै घरबाट राहत वितरण गर्दै आएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद मुसलमानले पनि जिल्लामा बसेर समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्दै आएको कपिलवस्तु कांग्रेसले जनाएको छ ।

कपिलवस्तु कांग्रेसले जनतालाई समस्या पर्दा चुपलागेर टुलुटुलु हेरेर बस्न नसक्ने जनाएको छ । आवश्यक पर्दा जति नै अबरोध र कठिनाइ भएपनि जनतालाई राहतसहितका सबै सहयोग गर्ने जनाएको छ ।

Published : Friday, 2020 April 17, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया