जनताको दुःख नदेख्ने ओली सरकारलाई कांग्रेसले सचेत गरायो, अब त अति भयो
काठमाडौं । नेपाली कांग्रेसले अहिलेको समय भावनामा बगेर बोल्ने बेला नभएपनि लकडाउनका कारण समस्यामा परेका मजदुर र अति विपन्न परिवारका विषयमा चुप लागेर बस्न नसकिने जनाएको छ ।
कांग्रेसका प्रवक्ता एवम् सूचन, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरेर कोठाभित्र भोकै छट्पटाइरहेका र सडकमा तड्पिएका सर्वसाधारणका विषयमा चुप लागेर बस्न नसकिने बताएका छन् ।
‘निश्चयनै भावनामा बगेर बोल्ने बेला यो होइन, तर कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन’, शर्माले भनेका छन् ।
‘सयौं किलोमीटर पैदल हिंडेर ती नागरिक घर गइरहेका छन्’, कांग्रेसले भनेको छ, ‘जोसंग अहिलेको बासस्थानमा आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति रहेन । यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने हो ।’
‘७ दिनको लक डाउन लम्बिएर महिना दिन पुग्न लाग्यो’, प्रवक्ता शर्माले भने, ‘पर्याप्त राहत पुर्याउन या अप्ठ्यारोमा रहेकाहरूलाई सुरक्षित ढंगले गाउँ पुर्याउने प्रबन्ध मिलाउन कांग्रेसले नेपाल सरकारसमक्ष आग्रह गर्दछ ।’
‘गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दैगएको छ’, कांग्रेसले भनेको छ, ‘तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं— अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ?’
‘आयोगलाई अर्बौं रुपियाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?’, प्रवक्ता शर्माले सरकारसँग प्रश्न गरेका छन् ।
‘परीक्षण, परीक्षण र व्यापक परीक्षण — कोरोनाबाट जोगाउन । राहत, राहत र पर्याप्त राहत — भोकमरीबाट जोगाउन । सरकारलाई हामी विनम्र अपील गर्दछौं’, शर्माले भनेका छन्, ‘सचेत गराउन चाहन्छौं र सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुन लागेको चेतावनीपनि दिन चाहन्छौं ।’
‘अघिल्तिरको स्थिति देखिन्छ भने देख्नु पर्यो सरकार । सुनिन्छ भने सुन्नु पर्यो । बुझिन्छ भने बुझ्नु पर्यो’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर परिस्थितिको गहिरो समीक्षा गर्दै उच्च ब्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, संकटमा साथ रहेको प्रतिपक्षी दल सरकारलाई सचेत गराउँदछ ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका खड्गप्रसाद ओली नेतृत्वको सरकारले लकडाउनका बेला मजदुर र अति विपन्न परिवारहरूका विषयमा सहायता वितरणमा ध्यान नदिएको भन्दै आलोचना भइरहेको छ ।
कांग्रेसले घर जान सडकमा हिँडेका सर्वसाधारणलाई उद्धार गरेर गन्तव्यमा पु¥याउन माग गर्दै आएको छ । तर, ओली नेतृत्वको कम्युनिस्ट सरकारले सो विषयमा ध्यान दिएको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया