सरकार जिम्मेवारीबाट बिमुख भएपछि तरुणले भन्यो, ‘समस्यामा परेकाहरूको तरुणले उद्धार गरौँ’

काठमाडौं । नेपाल तरुण दलले कांग्रेस र उसका भ्रातृ संस्थाहरूले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सहयोग गरिहेका बेला सरकार आफ्नो जिम्मेवारीबाट बिमुख भएको आरोप लगाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरेर संकटका बेला कांग्रेस र तरुण दलसहितका संस्थाहरूले सहयोग गरिरहेका बेला सरकार भने आफ्नो जिम्मेवारीबाट बिमुख हुँदै गएको बताएका हुन् । उनले सरकार जनताको समस्या समाधान गर्नेतिरभन्दा पनि वर्तमान समयका लागि अनावश्यक गतिविधिमा रुमल्लिरहेको भान हुँदै गएको जनाएका छन् ।

‘माहामारी संकटको यो समयमा परीक्षणको दायरालाई तीब्र गतिमा अगाडि बढाउनुपर्ने बेला सरकार भने आफ्ना कार्यकर्तालाई जागिर दिनका लागि विभिन्न आयोगमा नियुक्त गर्दै रमाइरहेको छ’, अध्यक्ष बस्नेतले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘यस्तो संवेदनशील घडीमा भएका यस्ता अनावश्यक र गैर जिम्मेवार क्रियाकलापको घोर निन्दा गर्दै आगामी दिनमा यस्ता गतिविधि नगर्न ध्यानाकर्षण गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘यस्तो विषम परिस्थितिमा मानव स्वास्थ्यका लागि आवश्यक पर्ने पर्याप्त सुरक्षाका सामग्रीबिना पनि अग्रपंक्तिमा रहि काम गरिरहेका स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, एमबुलेन्स चालक, फोहोर संकलकहरूको नेपाल तरुण दल मुक्तकंण्ठले प्रशंसा गर्दछ’, बस्नेतले भनेका छन् ।

‘यी वर्गका लागि आवश्यक पर्ने सुरक्षा सामग्री संगसंगै थप सुविधा पनि चाँडोभन्दा चाडो व्यवस्था गर्न सम्बन्धित निकायसंग माग गर्दछौँ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गहरू सबैभन्दा धेरै समस्यामा परेको जनाएको छ ।

सरकारले समस्यामा परेका मजदुरहरूका निम्ति आवश्यक राहातको प्रबन्ध गराउनका लागि लकडाउन शुरु भएदेखिनै तरुण दलले पटक–पटक ध्यानाकर्षण गराउँदै आएको अध्यक्ष बस्नेतले जनाएका छन् । सरकार मजदुर र अति विपन्न परिवारहरूलाई सहायता वितरण गर्ने कार्यमा पनि चुकेको बस्नेतले बताएका छन् ।

जसका कारण मजदुरहरूलाई खान, बस्न समस्या भएपछि हिँडेरै आफ्नो घर पुगेको भन्दै तरुण दलले केही व्यक्तिहरू बाटोमा अलपत्र परेको जनाएको छ ।

केही मजदुरहरू कार्यस्थलमा नै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको भन्दै तरुण दलका अध्यक्ष बस्नेतले सहयोगका लागि अपील गरेका छन् ।

‘त्यसैले यी सम्पूर्ण मजदुरहरूको खान, बस्न र उनीहरूको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउनफेरि पनि सरकारसंग नेपाल तरुण दल जोड्दार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘अन्तयमा नेपाल तरुण दलका सम्पूर्ण साथीहरुले आ–आफनो तर्फबाट राजमार्गमा हिडेर आफ्नो गन्तव्यमा गइरहेका मजदुरहरूका लागि ठाउँ–ठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ ।’

Published : Friday, 2020 April 17, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया