कांग्रेसमा गुटभन्दा क्षमतावानलाई जिम्मेवारी दिनुपर्छः सिटौला

सर्लाही । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले घरमुली भएपछि सभापतिले सबैलाई मिलाएर लान सक्नुपर्ने बताएका छन् ।

नेपाल तरुल दल नगर समिति लालबन्दीले बिहीबार सर्लाहीको लालबन्दीमा शहीद दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिटौलाले गुट–उपगुटभन्दा पनि क्षमता अनुसार जिम्मेवारी बाँडफाँड हुनुपर्ने बताए ।

उनले गाउँ तथा नगरदेखि केन्द्रसम्मका सभापतिलाई एकलौटी किसिमले नभई सबैलाई समेटर अघि बढ्न आग्रह गरेका छन् ।

ईतिहासमा यसो गर्‍यो उसो गर्‍यो भनेर मात्रै कांग्रेस अगाडि बढ्न नसक्ने भएको भन्दै सिटौलाले अब क्षमतावान युवालाई नेतृत्व दिएर पार्टीलाई गतिशील बनाउनुपर्नेमा बताएका छन् ।

नेपाली कांग्रेसका नेता सिटौलाले पार्टीले सशक्त रुपमा प्रमुख प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको स्वीकार गरेका छन् ।

कम्युनिस्ट सरकार अलोकतान्त्रिक किसिमले अघि बढिरहेकाले त्यसका विरुद्ध सडकदेखि सदनसम्म संघर्ष गर्ने बेला आएको कांग्रेस नेता सिटौलाले बताए ।

सरकारले अहिले न्यायालय, सञ्चार र कर्मचारीलाई नियन्त्रणमा लिएर दुई तिहाईको दम्भ देखाइरहेको सिटौलाको आरोप छ ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कम्युनिस्ट सरकार चारैतिरबाट असफल भएको बताए ।

उनले जनताले संघर्ष गरेर ल्याएको अधिकारलाई सरकारले विभिन्न बहाना बनाएर खोस्न खोजेको आरोप लगाए । अबका दिनमा संविधानले दिएका अधिकार रक्षाका निम्ति तरुणहरू सडकमा आउनुपर्ने बताए ।

तरुल दल लालबन्दी नगर समितिका सभापति सुदेश ढुङ्गानाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

उनीहरूले नेपाली कांग्रेसको आन्तरिक विवाद अन्त्य गरी सशक्त रुपमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा पार्टीका प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, गाउँ तथा नगर र जिल्ला स्तरका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

Published : Thursday, 2020 January 30, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया