नेविसंघमा को–को बन्दै छन् उपाध्यक्ष र महामन्त्रीहरू ? हाबी भइन् आरजु
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को नयाँ नेतृत्वको लागि विद्यार्थी नेताहरूको दौडधुप तीब्र भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ गठनको अन्तिम तयारी गरेका छन् । उनले नेपाली कांग्रेसका शीर्ष र नेविसंघका पूर्व अध्यक्षहरूसँग पनि परामर्श गरेका छन् ।
नेताहरूका अनुसार नेविसंघको नयाँ नेतृत्वमा ११औँ कार्यसमितिमा पदाधिकारीमा रहेकाहरूलाई नल्याउने सहमति पनि भएको छ ।
सभापति देउवाले राजीव ढुंगानाको नेतृत्वमा १२औँ महाविधेशन सम्पन्न गर्ने गरी राजीव ढुंगानाको नेतृत्वमा कार्यसमिति बनाउन लागेका हुन् ।
सभापति देउवाले नेविसंघको कार्यसमिति र पदाधिकारीमा समावेशिता बनाउन चाहेका छन् । तर, उनी आफ्नै पत्नी र गुटका नेताहरूको दवावमा परेको स्रोतको भनाइ छ ।
देउवले एउटा महामन्त्री उपसभापति विजय गच्छदारलाई दिन चाहेका छन् । देउवाको यो योजनामा उपसभापति विमलेन्द्र निधि बाधक बनेका छन् । निधिले गच्छदारलाई एउटा पनि पदाधिकारी दिन नचाहेको स्रोतको भनाइ छ ।
हुन त वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पदाधिकारीहरूको संख्या अझै बढाउन सभापति देउवासँग प्रस्ताव गरेको छ । विद्यार्थी नेताहरूलाई व्यवस्थापन गर्न समस्या भएपछि पौडेलले पदाधिकारी बढाउन प्रस्ताव गरेका हुन् ।
सभापति देउवाको टिमबाट नेविसंघको महामन्त्रीमा महेश्वरी कुँवर र शुभराम बस्नेतको नाम चर्चामा छ । बस्नेतले उपाध्यक्ष ‘खान्न’ भनेर आफू निकटका नेताहरूलाई भन्ने गरेका छन् ।
महेश्वरी कुँवरलाई सभापति देउवाकी पत्नी आरजु देउवा राणाको दवावमा महामन्त्री बनाउने तयारी भएको छ । आरजु राणा देउवाले नेविसंघमा अपारदर्शी रुपले हस्तक्षेप गरेको नेविसंघभित्र व्यापक चर्चा छ ।
देउवा टिमबाट नेविसंघको महामन्त्रीमा काठमाडौंका मनोज बैद्य बन्दै छन् । यसअघि नेता प्रकाशमान सिंहको समूहमा रहेका बैद्यले टिम परिवर्तन गरेर देउवा समूहबाट महामन्त्री पड्काउन थालेका हुन् ।
बैद्य नेविसंघका नेता तथा कार्यकर्ताहरूका वीचमा लोकप्रिय मानिन्छन् । विद्यार्थी नेता तथा कार्यकर्ताहरू परिचालनमा बैद्यको राम्रो प्रभाव छ ।
देउवा समूहबाट उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले पनि एक–एक जनालाई उपाध्यक्षमा अगाडि सारेका छन् ।
निधिले बैकुण्ठ श्रीवास्तवलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् । महामन्त्री खड्काले सुरेन्द्र केसीलाई उपाध्यक्ष बनाउन खोजेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट महामन्त्रीमा मोती भण्डारीको नाम चर्चामा छ । पौडेल समूहमा भण्डारी लोकप्रिय मानिन्छन् । नेविसंघका नेता तथा कार्यकर्ता परिचालनमा भण्डारीको आफ्नै प्रभाव छ ।
पौडेल समूहबाट महामन्त्रीमा दीपक भट्टराईले पनि दाबी गर्दै आएका छन् । भट्टराई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईका भतिजा हुन् ।
कोइराला परिवारबाट महामन्त्री डा.शशांक कोइरालाले उर्मिला थपलियालाई महामन्त्री बनाउन खोजेका छन् । थपलिया नेविसंघको महामन्त्री बन्ने पक्का जस्तै छ । उपाध्यक्षमा पौडेल समूहबाट हिमालदत्त श्रेष्ठको नाम चर्चामा छ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपाध्यक्षमा लीलाबल्लव दाहाल ‘काका’ र महामन्त्रीमा निखिलेस मिश्रलाई अगाडि सारेका छन् ।
नेता कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा वलदेव तिमिल्सिनाको नाम चर्चामा छ । युवराज पाण्डे र मुक्ति पौडेलको नाम सिटौला समूहबाट चर्चामा आएको छ ।
नेविसंघ गठनका लागि आएका नामहरू चर्चामा रहेपनि अन्तिम टुंगो लागेको छैन । स्रोतका अनुसार सभापति देउवाले बुधबारसम्म कार्यसमिति दिने तयारीमा छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया