देउवाले निर्वाचनमा भनेको कुरा गायिका आस्थाले भोगिन्, जनताले सम्झिन थाले कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको निर्वाचन अगाडि ‘कम्युनिस्टले जिते भने बोल्न र रुन पनि पाइँदैन’ भनेका थिए ।

सभापति देउवाले भनेको त्यस बेलाको यो अभिव्यक्ति अहिले आएर सत्य सावित हुन थालेको छ । पत्रकार, कलाकार, नागरिक समाज र सर्वसाधारणले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताअनुसार बोल्न पाइरहेका छैनन् ।

केही समय अगाडि गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीत गाए । गीतलाई कम्युनिस्ट सरकारले प्रतिबन्ध लगाइदियो ।

अर्का गायक भिटेनले पनि गीत सार्वजनिक गरे । उनलाई त झन् कम्युनिस्ट सरकारले हिरासतमा राखेरै कारबाही चलायो ।

अहिले गायिका आस्था राउतले सभापति देउवाले निर्वाचनका बेला भनेको त्यो अभिव्यक्तिको सामना गरिरहेकी छिन् । अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरी कर्मचारीले गरेको दुर्व्यवहारको विरुद्ध सामाजिक सञ्जालमा कडा अभिव्यक्ति दिए वापत हिसातमा बस्नु परेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतलाई प्रहरीको आलोचना र दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाएको छ । गायिका राउत अब चार दिन हिरासतमा बस्नुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

सोमबार प्रहरी सम्पर्कमा आएकी राउतमाथि अनुसन्धानका लागि सात दिन थुनामा राख्ने अनुमति माग्दै गएको प्रहरीलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार दिन थुन्न आदेश दिएका हुन् ।

प्रहरीले सरकारी वकिलमार्फत राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति मागेको थियो ।

सरकारी वकिलले पाँच दिन थुनामा राख्ने अनुमति मागेकोमा आफूले चार दिनको समय दिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् ।
गायिका राउतमाथि अभद्र व्यवहार अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ । श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएपछि राउतविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

राउत आइतबार आफैं अभिभावकसँग महानगरीय प्रहरी परिसर पुगेकी थिइन् । राउतको स्वाथ्य परीक्षण गरी प्रहरीले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो ।

प्रहरीले सर्वसाधारणमा गर्ने व्यवहार सधैँ आलोचनाको विषय बन्दै आएको छ । प्रहरी मेरो साथी भन्ने अभियान चलाएपनि तल्लो दर्जाका केही प्रहरीहरूका कारण सिङ्गो प्रहरी बद्नाम हुँदै गएको छ ।

प्रहरी नेतृत्वले यस विषयमा ध्यान नदिने हो भने सर्वसाधारण र प्रहरीवीचको दुरी झन् बढेर जानेछ । अहिले पनि प्रहरीसँग सर्वसाधारणहरू नजिक हुन चाहँदैनन् ।

थुनामा राखेर गायिका राउतलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । तर, राउतलाई दुर्व्यवहार गर्ने महिला प्रहरी जवान श्रेष्ठलाई कारबाही हुन्छ वा हुँदैन हेर्न बाँकी छ ।

यो प्रकरणमा गायिका राउत अलिक धेरै दोषी होलिन् । तर, ती महिला प्रहरी जवान श्रेष्ठ पनि कम दोषी छैनन् । उनी पनि कारबाहीको भागिदार छिन् ।

Published : Tuesday, 2020 January 28, 9:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया