मनाङेले झापड हानेका गुरुङ नै ‘फटाहा’, प्रहरीले खोरमा जाक्यो

पोखरा । गण्डकी प्रदेशका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सांसद दीपक मनाङेले झापड हानेका मिलन गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि कास्की एन्फाका अध्यक्ष गुरुङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको थियो । जाहेरी परेपछि गुरुङलाई बिहीबारै प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

एन्फा कास्कीका अध्यक्ष रहेका गुरुङलाई सांसद मनाङेले मंगलबार झापड हानेका थिए ।

मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले शुक्रबार मनाङेलाई दुई दिन थुनामा राख्न अनुमति दिएका हुन् ।

मनाङेविरूद्ध प्रहरीले केही सार्वजनिक अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

प्रहरी हिरासतमा रहेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ भन्ने ‘दीपक मनाङे’ले आफू सफल भएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि दुई दिन हिरासतमै राख्न म्याद थप गरेपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।

‘जुन चिजलाई मैले भिडेको थिएँ, त्यो केस सक्सेस भयो, त्यो ठगलाई बल्ल समात्न थाल्यो’, मनाङेले भनेका छन्, ‘अब यो ठगको मुद्दा आउँदैछ, जुन चिजलाई मैले लडेथें अब सक्सेस त भयो नि कमसेकम ।’

मनाङेले माघ ७ गते पोखराको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह हुनुअघि अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए ।

एन्फा अध्यक्ष गुरुङले दिएको सार्वजनिक अपराध ऐन अन्तर्गतको जाहेरीमा उनी अहिले प्रहरी हिरासतमा छन् ।

‘१० वर्ष भएछ यसले पोखरामा एकलौटी ठग्दै बसेको, कसैले केही मुद्दा हाल्न नसक्ने यसलाई’, मनाङेले भने, यति ठूलो डन रहेछ यो, खतरनाक नै रहेछ ।’

मनाङेले झापड हानेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ शुक्रबार पक्राउ परेपछि उनले यसो भनेका हुन् ।

गुरुङलाई प्रहरीले ठगी र बैंकिङ कसूरको जाहेरीको आधारमा पक्राउ गरेको थियो ।

Published : Friday, 2020 January 24, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया