कम्युनिस्टविरुद्ध सडकमा बिद्रोह हुन्छ, कांग्रेसकाे जित आवश्यक छः डा. संग्रौला

विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा.डिला पन्त संग्रौलाले कम्युनिस्टहरूका कारण राष्ट्रियता कमजोर भएको बताएकी छिन् ।

राष्ट्रिय सभाका मतदाताहरूको स्वागत र प्रशिक्षणका लागि नेपाली कांग्रेस मोरङले विराटनगरमा बुधबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा.संग्रौलाले देशको सिमाना मिचिदा पनि कथित राष्ट्रवादी सरकार बोल्न नसकेको बताइन् ।

‘देशको सिमाना मिचिदा पनि प्रधानमन्त्रीजी एक शब्द बोल्नु हुन्न’, उनले भनिन्, ‘भारतसँगको सम्बन्ध आफ्नै विशिष्ठताको छ । भारतसँग कुटनीतिक रुपमा पहल गरेर सीमा विवाद मिलाउनुपर्छ ।’

देशमा सुशासन हुन नसकेको भन्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.संग्रौलाले चौतर्फी रुपमा अराजकता बढ्न थालेको बताइन् । कम्युनिस्टहरूले निर्वाचनमा गरेको प्रतिवद्धता विपरितका कार्यहरू गरेको भन्दै उनले सुशासनका लागि कांग्रेसले दवाव दिने बताइन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफै भ्रष्टहरूलाई संरक्षण गरेको डा.संग्रौलाले आरोप लगाइन् ।

‘भ्रष्टाचारीको मुख पनि हेर्दैन भन्ने प्रधानमन्त्रीजीको आसपास बालुवाटारको जग्गा खानेदेखि नेपाल ट्रष्टको सम्पत्ति हडप्नेहरू घुम्ने गरेका छन्’, उनले भनिन्, ‘देशमा भ्रष्टाचारले जनता आजित बनेका छन् । सरकारमा बसेकाहरू नै कमाउन लागेका छन् ।’

नेपाली कांग्रेसले देशमा देखिएको बेथितिका विरुद्ध आवाज उठाउने र जनतालाई कम्युनिस्ट सरकारको विषयमा जानकारी गराउने नेतृ डा.संग्रौलाले बताइन् ।

उनले कमजोर हुँदै गरेको राष्ट्रियताको रक्षा, जनताको अधिकारी, संविधानको ईमान्दारिताका साथ कार्यान्वयन, जनताका अधिकार, सुशासन, भ्रष्टाचार रोक्न नेपाली कांग्रेसले जित्नुपर्ने बताइन् ।

उनले कम्युनिस्ट सरकार वर्तमान कम्युनिस्ट सरकारसँग आजित बनेको र कुनै पनि बेला जनताको बिद्रोह सडकमा आउने चेतावनी दिएकी छिन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल, राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सचेतक सरिता प्रसाइँ, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा, गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Wednesday, 2020 January 22, 5:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया