पूर्व गुण्डा नाइके दीपक मनाङेले हाने अध्यक्षलाई थप्पड

पोखरा । पूर्व गुण्डा नाइके एवम् गण्डकी प्रदेशका सांसद राजीव गुरुङ भनिने दीपक मनाङेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेका छन् ।

मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका बेला खेल व्यवस्थापन नमिलाएको भन्दै मनाङेले खेल मैदानमा अध्यक्ष गुरुङलाई हानेका हुन् ।

अध्यक्ष गुरुङले खेलको नियम नबुझी आफूमाथि हातपात भएको बताएका छन् ।

अध्यक्ष गुरुङले बुधबारदेखि मनाङको खेल रहेको भन्दै पूर्व गुण्डा नाइके मनाङेको टिम ५ दिनअघि नै आएको बताउँदै होटल मागेपछि विवाद भएको बताए ।

‘मुख्यमन्त्री आइसक्नुभएको थियो । गेम शुरु हुन लागेको थियो’, अध्यक्ष गुरुङले भने, ‘म स्वागतका लागि जाँदा जथाभावी बोल्दै हात हाल्नुभएको छ । सांसदको मर्यादा राखेर मैले केही गरिनँ ।’

प्रदेश सांसद मनाङेले थप्पड हानेको स्वीकार गरेका छन् । ‘आयोजकले बदमासी गरेको छ । मनाङबाट प्लेअर आएको धेरै भइसक्यो’, मनाङेले भने, ‘न ग्राउन्ड दियो, न खाने बस्ने खर्च छ ।’

‘मैले यही कुरा सोध्दा ठूलो कुरा ग¥यो’, मनाङेले भने, ‘अनि एक झापड हानेको हो ।’

सामान्य खेलकुद रङ्गशालामा गर्ने, तर प्रदेशकै गौरवपूर्ण प्रतियोगिता भण्डारढिकमा गर्नु आयोजकको कमजोरी भएको उनले बताएका छन् ।

आयोजकले मनपरी सहयोग उठाउने र अपारदर्शी ढङ्गबाट आर्थिक अपचलन गरेको मनाङेको आरोप छ ।

मनाङबाट आउन धेरै समय लाग्ने भएकोले सोहीअनुसार सुविधा दिनुपर्ने मनाङेको माग छ ।

Published : Tuesday, 2020 January 21, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया