कम्युनिस्टहरूले देखे काभ्रेमा कांग्रेसको असली पावर

काभ्रे । नेपाली कांग्रेसबाट निर्वाचित नगरसभा सदस्यले पनौती नगरपालिकाको छैठौं सभा बहिष्कार गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बहुमतको आडमा पेल्न खोजेको र बोल्न पनि नदिएपछि नेपाली कांग्रेसका नगर सभा सदस्यहरूले शुक्रबारको बैठक बहिष्कार गरेको वडा नम्बर ९ का अध्यक्ष सहकुल हुमागाइँले जानकारी दिए ।

नेपाली कांग्रेसले विधेयकहरू तयार नै नभइ हतारमा नगरसभा सञ्चालन गरेको आरोप लगाएको छ ।

‘फाहोरमैला, शिक्षा, स्वास्थ्य, कृषि, टिपर आतंक लगायतका बिषयमा आफ्ना कुरा राख्दै थियौं’, वडाध्यक्ष हुमागाइँले भने, ‘असम्बन्धित व्यक्तिले यस्ता विषयमा नबोल्न भन्दै मर्यादा सिकाउन थाल्नुभयो ।’

वडाध्यक्ष हुमागाईंले भने, ‘जनप्रतिनिधिले जनताका समस्या राख्न नपाए किन बस्ने भनेर बहिष्कार गरेको जानकारी गराएर हिँड्यौं ।’

हुमागाइँका अनुसार, वडा नम्बर १ का अध्यक्ष गुणनाथ सापकोटाले नगरपालिकाले राम्रो काम गरिरहेको भन्दै अनावश्यक विवाद नगर्न भनेका थिए ।

नगरप्रमुखको साटो वडाध्यक्षले जवाफ दिँदै मेयर र आफू एउटै पार्टीको भन्ने जवाफ दिएपछि बहिष्कार गरेको हुमागाइँले बताएका छन् ।

अर्धवार्षिक समीक्षा गर्न शुक्रबारबाट शुरु भएको नगरसभामा १२ वडाध्यक्ष र इच्छुक नगरसभा सदस्यले धारणा राख्ने कार्यसूची थियो ।

नगरप्रमुख र उपप्रमुखसहित पनौतीमा नेकपाको बहुमत छ । नेपाली कांग्रेसका ६ वडाध्यक्षसहित २३ नगरसभा सदस्य छन् ।

नगरप्रमुख भीम न्यौपानेले बहिष्कार गरेको आफूलाई जानकारी नभएको बताए । न्यौपाने नेकपाबाट नगर प्रमुखमा विजयी भएका हुन् ।

‘उहाँहरूले बहिष्कार गरेको जस्तो लाग्दैन, अन्तिम अन्तिमसम्म हुनुहुन्थ्यो,’ प्रमुख न्यौपानेले भने, ‘शून्य समयमा बोल्न २ जना बाँकी हुनुहुन्थ्यो, मैले दिनुपर्ने जवाफ दिन म तयार नै थिए, उठेर हिडुनुभएछ की ?’ न्यौपानेले कुनै विषयमा विमति नभएको दाबी गरेका छन् ।

Published : Saturday, 2020 January 11, 7:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया