झुठ्ठा आरोपमा तरुणका कोषाध्यक्ष पक्राउ, छिटाे छाड्न जितजंगले दिए चेतावनी
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्रकुमार घर्तीलाई विनाकारण अधिनायकवादी ओली सरकारले पक्राउ गरेको भन्दै रिहाइ गर्न माग गरेका छन् ।
अध्यक्ष बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरेर अपराधिक गिरोहको उक्साहटमा विनाकारण नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष घर्तीलाई ठमेलबाट पक्राउ गरेको बताएका छन् । मादक पदार्थ सेवन गरी आएका प्रहरीले अपमानजनक ढंगबाट कोषाध्यक्ष घर्तीलाई पक्राउ गरेको बस्नेतले बताएका छन् ।
‘तेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्रकुमार घर्तीलाई आफ्नो व्यक्तिगत कामको शिलशिलामा व्यस्त भइरहेकै अवस्थामा पुस २३ गते बेलुका काठमाडौंको ठमेलबाट वर्तमान अधिनायकवादी ओली सरकार र यसका अपराधिक गिरोहको उक्साहटमा विनाकारण पुस २३ गते काठमाडौंको ठमेलबाट मादक पदार्थ सेवन गरी मातियर आएका प्रहरीद्वारा अपमानजनक ढंगबाट पक्राउ गरिएको मानवअधिकार विरोधी घटनाले नेपाल तरुण दलको गम्भीर ध्यान आकृष्ट भएको छ’, अध्यक्ष बस्नेतले विज्ञप्तिमा भनेका छन् ।
‘नेपाली नागरिकको शान्तिपूर्ण रुपमा आफ्नो संवैधानिक अधिकार उपभोग गर्न पाउने वातावरणको संरक्षण गर्नुपर्ने सरकारले आफै तरुण नेता देवेन्द्रकुमार घर्तीलाई कुनाकाप्चा एवम् गल्ली गल्छेडोमा पारी विनाकारण झुठ्ठा मुद्धामा फसाउने दुरासय राखी पक्राउ गर्नु निन्दनीय र आपत्तिजनक छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।
‘लोकतान्त्रिक विचार बोकेकै आधारमा वर्तमान फासिवादी कम्युनिस्ट सरकारले तरुण दलका नेता एवम् कार्यकर्ता साथीहरूलाई प्रहरी प्रशासन लगाएर झुठ्ठा मुद्धामा फसाउने र यातना एवम् दुःख दिने दुष्कर्मको नेपाल तरुण दल घोर निन्दा र भर्त्सना गर्दै जनताको अधिकारको रक्षा गर्ने दायित्व बोकेको सरकार र प्रहरी प्रशासन आफै जनतालाई आतंकित पार्ने कुकर्ममा लागिरहने हो भने नेपाल तरुण दल जनताको अधिकारको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने चेतावनी दिँदै विनाकारण पक्राउ गरिएका तरुण नेता देवेन्द्रकुमार घर्तीलाई विना सर्त तत्काल रिहा गर्न नेपाल तरुण दल वर्तमान सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
‘नेपाल तरुण दलको आग्रहलाई वेवास्ता गरी तरुण नेतालाई झुठ्ठा आरोपमा फसाउने दुर्नियत राखिएमा त्यसको विरुद्धमा दल आन्दोलनमा जान बाध्य हुने र त्यसपछि उत्पन्न परिस्थितिको जिम्मेवार सरकार आफै हुनुपर्ने यसै प्रेस विज्ञप्तिमार्फत सचेत गराउँदछ’, तरुण दलका अध्यक्ष बस्नेतले चेतावनी शैलीमा भनेका छन् ।
प्रहरीले विभिन्न आरोप लगाएर तरुण दल बाग्लुङका कोषाध्यक्ष घर्तीलाई पक्राउ गरेपछि तरुण दलका अध्यक्ष बस्नेत रिसाएका हुन् ।
देशभरि तरुण नेताहरूलाई झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले झुठ्ठा मुद्धा लगाउनेदेखि विभिन्न बहानामा दुःख दिने कार्य गर्दै आएको तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले बताए । चापागाइँले तरुण नेताहरूलाई दुःख दिने कार्य तत्काली रोक्न कम्युनिस्ट सरकारलाई चेतावनी दिएका छन् । 
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया