कांग्रेसका जिल्ला सभापतिहरूको गुटको भेला सोमबार, धेरै सभापतिद्वारा बहिस्कारकाे घोषणा

काठमाडौं । नेपाली कांग्रेसभित्र शीर्ष नेतृत्ववीच झगडा चलिरहेका बेला असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकटका जिल्ला सभापतिहरूको भेला सोमबार काठमाडौंमा हुँदै छ ।

शीर्ष नेताहरूलाई रचनात्मक दवाव दिएर मिल्न बाध्य पार्नुपर्ने बेला पौडेल समूहका जिल्ला सभापतिहरूले झन् गुटको बैठक बोलाएर विवाद बढाउन खोजेको भन्दै केही जिल्ला सभापतिहरूले गुटको बैठकमा सहभागी नहुने बताएका छन् । पौडेल समूहको जिल्ला सभापतिहरूको भेला हुने भएपछि देउवा निकटका जिल्ला सभापतिहरूले सोमबारको भेलामा सहभागिता जनाउने छैनन् ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कम्युनिस्टहरूका कारण पार्टीलाई समस्या भइरहेका बेला गुटको भेला र बैठक बोलाउनु उचित नरहेको बताए । ‘हामी जिल्ला सभापतिहरूले नेताहरूलाई मिल्न दवाव दिनुपर्छ । कांग्रेस रह्यो भने हामी रहने हो’, उनले भने, ‘कसैलाई व्यक्तिगत फाइदाका लागि जिल्ला सभापतिहरू प्रयोग हुनु हुँदैन ।’

भेलामा पौडेल समूहले जिल्ला सभापतिहरूलाई बोलाउन पक्षपात गरेको छ । सबै जिल्ला सभापतिहरूलाई सोमबारको भेलाका लागि निम्तो दिइएको छैन । पौडेल समूहले जिल्ला सभापतिहरूको भेलालाई देखाएर सभापति देउवालाई दवाव सिर्जना गर्न खोजेको छ ।

स्रोतका अनुसार पौडेल समूहकै धेरै सभापतिहरू सोमबारको बैठकमा अनुपस्थित हुनेछन् । उनीहरूले केही नेताहरूको व्यक्तिगत स्वार्थलाई मलजल हुने गरेर आफूहरू गुटको बैठकमा सहभागी नहुने जनाएको पौडेल निकटका एक सभापतिले बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनको मिति, विभागहरूको संख्या बढाउने, क्रियाशील सदस्यता वितरण लगायतका विषयमा निर्णय गराएपछि वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला समूह रिसाएको छ ।

विवाद बढ्दै जाँदा पौडेल र सिटौला समूहले केन्द्रीय कार्यसमितिको बैठक लगातार बहिस्कार गर्दै आएको छ । अझै पनि पौडेल समूह बहिस्कारकै नीतिमा छ ।

पौडेल समूहको बहिस्कारको निर्णय राष्ट्रिय सभाको निर्वाचनमा समेत पर्ने पक्का छ । चुनावी प्रचार प्रसारमा लागेर पार्टीका उम्मेदवारहरूको पक्षमा माहोल बनाउने बेला पौडेल समूहले जिल्ला सभापतिहरूलाई काठमाडौंमा बोलाएर झन् समस्या चर्काउन थालेको छ ।

Published : Sunday, 2020 January 5, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया