दाङका जनताको सेवा गर्न सडकमा उत्रिए तरुण र नेविसंघ, कम्युनिस्ट हर्कतको भण्डाफोर

सुरेश श्रेष्ठ

तुलसीपुर । दाङ जिल्लामा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तुलसीपुरका बासीन्दाले खाँदै आएकोे पानीको मुहान र बिस्तार गरिएका पाइपलाइनलाई क्षति पुर्‍याएको भन्दै आक्रोशित भएको छ ।

तरुण दल र नेविसंघले सडक बिस्तारको नाममा खानेपानीको पाइपमा क्षति नपुर्‍याउन चेतावनी दिएको छ । पाइपलाई क्षति पु¥याउने गरेर शुरु गरिएको सडक विस्तारको कार्य तत्काल रोक्न तरुण दल र नेविसंघले चेतावनी दिएको छ ।

खानेपानीको पाइपमा क्षति पुग्ने गरेर भएको सडक विस्तारको कार्य तत्काल नरोकिए सडक संघर्षमा उत्रिने तरुण दल र नेविसंघले चेतावनी दिएका छन् ।

भगवती सामुदायिक वन समूह र स्थानीयले बल्ले–कल्ले जोड्ने सडक निर्माणका लागि सडक बनाइदिने र त्यस बापत ठेकदारलाई ढुङ्गा दिने सहमति गरेको बताएका छन् ।

सडक चौडा गराउने भन्दै खानेपानीको धइरेनी, बाख्रे, छरछरे र राम्रीको खानेपानीको मुहान पुुरिनुका साथ खानेपानीको पाईपलाईनमा क्षति पुगेको छ ।

त्यस क्षेत्रका स्थानीयले सल्यान रोडको पैयाँखोरेदेखि सातबाससम्म सडक निर्माण तथा चौडा गरेवापत घोराही–तुलसीपुर फोरलेन सडक निर्माण गर्ने कम्पनीलाई ढुङ्गा निकासी गर्न दिने गत मंसिरमा निर्णय गरेका छन् ।

मंगलबार तुलसीपुरमा आयोजना गरिएको तुलसीपुर खानेपानी मुहान संरक्षणका लागि सर्वदलीय तथा सर्वपक्षीय अन्तरक्रियामा नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीले खानेपानीको मुहान र पाईको क्षति गर्दै गरिएको सडक बिस्तार बुधबार बिहान साँढे ७ बजेभित्र रोक्न चेतावनी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको ७१औँ कार्यपालिका बैठकले वडा नम्वर ३ को झाँक्री ढुङ्गादेखि सातवाससम्म सडक बनाउने गरेको निर्णय अनुसार सडक बिस्तार गर्ने क्रममा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बितरण गर्दै आएको पानीको मुहान र पाइपमा क्षति पुगेको तरुण दलका अध्यक्ष घर्तीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष वीरेन्द्र शाहले झाँक्री ढुङ्गादेखि सातवाससम्म सडक चौडा बनाउने निर्णय तुलसीपुर उपमहानगरपालिकाको ७१ औ बैठकले गरेको जानकारी दिएका छन् ।

उत्खननको कार्य गर्दा गर्नुपर्ने ईआईआई (वातावरणीय प्रभाव) का बारेमा अध्ययन अनुसन्धान नै नएको र गरेको भएपनि त्यसको प्रतिवेदनको आधारमा निर्माण कार्य अगाडि बढानुपर्ने नीतिगत व्यवस्थालाई समेत उपमहानगरपालिकाले बेवास्ता गरेको बताए ।

‘नियतमाथि आशंका बढेको छ, सडक चौडा होइन, जंगल विनास र उक्त क्षेत्रको ढुङगा उत्खनन् हो’, उनले भनेका छन् ।

‘हेभी ईक्युपमेन्ट प्रयोग गर्दै दर्जनौ टिप्परले ढुङगा निकासी गरिरहेका छन्, तर सम्बन्धि पक्ष मौन छ’, शाहको गुनासो छ ।

नेविसंघका नेता अनिल कार्की, घनश्याम भण्डारी, अरुण लहरे लगायतले त्यस क्षेत्रका नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पिउँनेपानीलाई नष्ट गर्ने कार्यलाई तत्कालन रोक्नुपर्ने अन्यथा आन्दोलनमा उत्रनुपर्ने अवस्था सृजना हुने चेतावनी दिएका छन् ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सदस्य रञ्जन गौतमले प्रतिसेकेन्ड ३० लिटर पानी निस्किने मुहान र पाइप लाइनमा क्षति हुँदा उपभोक्तालाई पानी पुर्‍याउन कठिनाई भएको जानकारी दिए ।

संस्थाको मंगलबार बसेको बैठकले ३ दिनभित्र उक्त कार्य रोक्न आग्रह गरेको छ । सडक निर्माणको क्रममा पाइप लाइनमा क्षति पुगेपछि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तत्काल निर्माण गरिदिन सम्बन्धित पक्षसंग माग गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले बुधबार सो विषयमा सम्बन्धि पक्षसँग कुरा गर्ने बताएका छन् ।

उनले सत्ता र शक्तिको दुरुपयोग गर्न नहुने भन्दै अन्य दलहरू र सम्बन्धित पक्षसँग छलफल अगाडि बढाउने बताए ।

नेपाली कांग्रेस दाङका नेताहरू गेहेन्द्र गिरी, शंकर गिरी, खिमप्रसाद खराल, लेबेन्द्र धिताल, केशव आचार्य, घनश्याम रेग्मी, जगत खड्का, खिमबहादुर वली, जनक खराल, सुरेश हमाल, ललित शाह, शोभाकर सापकोटा लगायतले २ किलो मिटर क्षेत्रफलमा पानीको पाईप र मुहानमा पुर्‍याएको क्षति र ठूलो मात्रामा सामुदायिक वन उत्खनन् गरी ढुङगा निकासी गर्ने कार्यका बिरुद्ध कानूनी उपचार र दवावमुलक कार्यक्रम अगाडि बढाउनुपर्ने सुझाब दिएका थिए ।

तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा पूर्वएमालेले जितेका छन् । उनीहरू कमिशनको चक्करमा लागेर खानेपानीको मुहार नै बन्द हुने गरेर काम अगाडि बढाउन दिएपछि बाध्य भएर तरुण दल र नेविसंघ आन्दोलनमा उत्रिएका छन् ।

Published : Wednesday, 2019 December 25, 3:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया