कांग्रेस नेताहरूले स्व.भट्टराईलाई यसरी सम्झिए (तस्वीर)
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी मनाइएको छ ।
ललितपुरस्थित बाँडेगाउँमा रहेको भट्टराई आश्रमका साथै देशका विभिन्न स्थानमा जन्मजयन्ती मनाइदिएको हो ।
बाँडेगाउँमा मंगलबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका थिए ।
देउवाका साथै महामन्त्री पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, प्रदीप गिरी, गोपालमान श्रेष्ठ, रामहरि खतिवडा, दीपकुमार उपाध्याय, रमेश लेखक, उदयशम्शेर राणासहितका नेताहरूको सहभागिता रहेको थियो ।
उपस्थित नेताहरूले स्व.भट्टराईको शालिकमा माल्यार्णपन गरेका थिए ।
भारतका प्रसिद्ध सन्त अमर ज्योति बाबाको उपस्थिति रहेको कार्यक्रममा शास्त्रीय संगीत सुनाइएको थियो ।
नेपाली कांग्रेसका सभापति देउवाले स्व.कृष्णप्रसाद भट्टराईलाई सिद्धान्तवादी अध्यात्मिक नेता भएको बताए । ‘किसुनजीले धेरै ठूलो तपस्या गरेर राजनीतिमा निष्ठाको नजिर स्थापित गर्नुभएको छ’, उनले भने, ‘नेपाली कांग्रेसमा किसुनजी जस्ता त्यागी नेताहरू थिए भनेर आजका पुस्तालाई शिक्षा दिनुपर्छ ।’
‘एक पटक राजदूतसहित धेरै महिलाको बीचमा मेरो बारेमा किसुनजीलाई भन्न लगाउँदा उहाँले सत्य बोल्दा तपाईंहरू रिसाउने र झूट बोल्दा भगवान् रिसाउने भन्नुभएछ’, देउवाले भने, ‘किसुनजी सत्यवादी र आदर्शवादी नेता हो ।’
अमरज्योति बाबाले सन्त नेता किसुनजी सन्त महात्माका लागि समेत प्रेरणादायी व्यक्तित्व भएको बताए । उनले अरूले के आलोचना गर्छन् भन्दा पनि के सत्य हो, त्यसको पछि लाग्नुपर्ने बताए ।
स्व.भट्टराई नेपाली कांग्रेसको नेतृत्वमा हुँदा उनका अनुयायी भनेर चिनिएका राजनीतिज्ञहरू रामचन्द्र पौडेल, शरतसिंह भण्डारी, नारायण खड्का, बलबहादुर केसीलगायतका नेताहरू भने उपस्थित भएका थिएनन् ।
स्व.कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्तीका अवसरमा आयोजित बाँडेगाउँको कार्यक्रममा कोइराला परिवारका कोही पनि सदस्य सहभागी भएनन् ।
विगतमा भट्टराई आश्रममा सत्तापक्ष र विपक्षी दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति हुने गरेको थियो ।
मंगलबारको औपचारिक कार्यक्रममा स्व.भट्टराईका सीमित अनुयायी, सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका अध्यक्ष पीएल सिंहलगायतको मात्रै उपस्थिति थियो ।






बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया