ओली सरकारका खराब दिन शुरु, कांग्रेसको सामना गर्न तयार रहन गगनको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगनकुमार थापाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई यती समूहको मालिक हो कि देशको प्रधानमन्त्री हो भनेर प्रश्न गरेका छन् ।

काठमाडौंको बत्तीपुतलीमा सोमबार एम्बुलेन्स वितरण कार्यक्रमपछि सम्वाददाताहरूसँग कुरा गर्दै युवा नेता थापाले गोकर्णको जंगलसहितका राष्ट्रिय सम्पत्ति व्यक्तिलाई दिएर ठूलो भ्रष्टाचार गरेको बताए ।

‘म भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्ने प्रधानमन्त्रीले गोकर्णको जंगलसहित नेपाल ट्रष्टको नाममा रहेको राजाको सम्पत्ति किन धमाधम आफू निकटका व्यापारीलाई दिनुभएको छ ?’, प्रतिनिधि सभाका सांसद समेत रहेका नेपाली कांग्रेसका युवा नेता थापाले भने, ‘प्रधानमन्त्री खड्गप्रसाद ओली यती समूहको मालिक हो कि ?

थापाले राष्ट्रिय सम्पत्ति दुरुपयोग गर्नेहरूका विरुद्ध नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । ‘नेपाली कांग्रेसले सरकारी सम्पत्ति दुरुपयोग गर्ने कम्युनिस्ट सरकारविरुद्ध चुप लागेर बस्दैन’, उनले भने, ‘केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । यो विषय पहिलो प्राथमिकताका साथ उठ्छ ।’

संसदमा बहुमत छ भन्दैमा राष्ट्रिय सम्पत्ति दुरुपयोग गर्ने गरेर ऐन कानून बनाउन नमिल्ने उनले बताए । ‘गृहमन्त्रीलाई हटाएर प्रधानमन्त्रीले तोकेको मन्त्री नेपाल ट्रष्टको अध्यक्ष हुने व्यवस्था राखिएको छ’, नेपाली कांग्रेसका युवा नेता थापाले भने, ‘आफू अनुकूलको निर्णय गर्न र राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्न यसो गरिएको रहेछ ।’

नेपाली कांग्रेसले राष्ट्रिय सम्पत्तिको दुरुपयोग रोक्नका लागि सदन र सडक दुबैतिर जोडदार रुपमा अभियान चलाउने बताए । उनले आवश्यक पर्‍यो भने सरकारविरुद्ध सडक आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले नेपाल ट्रष्टमा रहेको राजा परिवारको सम्पत्तिलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले स्व.आङछिरिङ शेर्पाको यती समूहलाई कौडीको भाउमा दिएपछि विरोध भइरहेको छ ।

Published : Monday, 2019 December 23, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया