विद्या भण्डारीले दिइन् प्रचण्डलाई झट्का, शीतल निवासमा कम्युनिस्टहरूलाई लञ्च
काठमाडौं । पूर्वएमाले पृष्ठभूमि भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले र माओवादी केन्द्र पृष्ठभूमि भएका सीमित नेताहरूलाई बोलाएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक बिथोलिदिएकी छिन् ।
शनिबार बिहान राष्ट्रपति भण्डारीले नेकपाका नेताहरूलाई बोलाएर शीतल निवासमा राजनीतिक अवस्थाका विषयमा परामर्श गरेकी हुन् ।
नेकपाको स्थायी समितिको बैठक चलिरहेका बेला स्थायी समितिका सदस्यहरूलाई बोलाएर राष्ट्रपति भण्डारीले बैठक विथोलिदिएको भनेर नेकपाका दोस्रो कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रिसाएका छन् ।
प्रचण्डले आफूलाई जानकारी नै नगराएर राष्ट्रपतिसँगको छलफलमा गएको भन्दै आक्रोश व्यक्त गरेको स्थायी समिति सदस्य डा.बेदुराम भुसालले जानकारी दिएका छन् ।
नेपाली रेडियो नेटवर्कसँगको अन्तर्वार्तामा डा.भुसालले राष्ट्रपति भण्डारीले राजनीतिक परामर्श गर्नु उचित नभएको भन्दै आलोचना गरेका छन् ।
सत्तारुढ नेकपा स्थायी समिति बैठकमा शनिबार नेताहरू पातलिएका थिए । धेरैको अनुपस्थितिलाई औंल्याउँदै नेताहरूले प्रश्न उठाएका थिए ।
बैठकमा यो के गरेको ? विधि र पद्धति यही हो ? भन्दै प्रश्न उठेको थियो । बैठकमा खैलाबैला मच्चिएको थियो ।
अध्यक्ष पुष्पकमल दाहालले कुनै स्रोतबाट सुइँको पाएका आधारमा जवाफ दिए, ‘उहाँहरू राष्ट्रपतिकहाँ जानुभएको हुन सक्छ ।’
सदस्य संख्या कम भएपछि केही बेर बैठक स्थगन गर्नुपर्यो । पार्टी बैठक शुरु भएको एक घण्टासम्म अध्यक्षलाई नै जानकारी नदिई नेताहरू उपस्थित नहुनु गम्भीर विषय भएको प्रचण्डले जनाएका छन् ।
बैठकमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेताहरूका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आत्मालोचना गरेका छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले लञ्च खाएर जान आग्रह गरेपछि पार्टी बैठकमा आउन केही ढिलाइ हुन पुगेको बताएका छन् ।
राष्ट्रपति भण्डारीले नेकपाको आन्तरिक राजनीतिक जीवनमा हस्तक्षेप गरिरहेको आरोप लागिरहेको छ ।
शनिबार बिहान ११ बजे १२ जनाजति प्रभावशाली नेता पार्टी नेतृत्वलाई जानकारी नगराई शीतल निवास पुगेका हुन् ।
तिनमा ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेताहरू देव गुरुङ, सुरेन्द्र पाण्डे, वर्षमान पुन, देवेन्द्र पाण्डे, जनार्दन शर्मा, शक्ति बस्नेत, घनश्याम भुसाल, शंकर पोखरेल, अर्थमन्त्री युवराज खतिवडालगायत थिए ।
मंसिर ४ गते नेकपा अध्यक्षद्वयको कार्यविभाजनअघि अध्यक्षद्वय खड्गप्रसाद ओली र प्रचण्ड बालुवाटारबाटै शीतल निवास पुगेका थिए । पार्टीमा त्यसको आलोचना हुँदै आएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग शनिबार साँझ भेट गरेका छन् । भण्डारी–ओलीको भेट नियमित ब्रिफिङ भएको जनाइएको छ ।
शनिबार दिउँसै राष्ट्रपति भण्डारीले नवनिर्वाचित सांसद विद्या भट्टराईलाई भेटेकी थिइन् ।
राष्ट्रपति भण्डारीसँगको भेटमा सहभागीमध्ये ४ जनाले धारणा राखेका थिए । नेताहरूले राष्ट्रपति कार्यालयमा २ घण्टा बिताएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया