कम्युनिस्ट सरकारले नेविसंघलाई दियो चोट, शेर्पाले हाँस्दै देखाए घाउ (तस्वीर)
काठमाडौं । भारत र चीनले सीमा मिचेको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्तामाथि दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले बल प्रयोग गरेर दमन गर्ने प्रयास गरेको छ ।
नेविसंघले आइतबार काठमाडौंको माइतीघर मण्डलामा नेपाली भूमि अतिक्रमण भएको विरोधमा भारत र चीनविरुद्ध प्रदर्शन गरेको थियो ।
नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा नेपाली भूमि अतिक्रमणविरुद्ध विरोध प्रदर्शन गरिएको थियो ।
प्रदर्शनका क्रममा उनीहरूले ‘गो ब्याक इण्डिया’ र ‘गो ब्याक चाइना’ को नारा लगाएका थिए । उनीहरूले राष्ट्रवादको नारा लगाएर निर्वाचनमा विजयी भएको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई मिचिएको नेपाली भूमि फिर्ता गर्न कुटनीतिक पहल गर्न माग गरेका थिए ।
दुबैतर्फबाट भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेकाले उनीहरूले नेपाली भूमि छोडेर पछि हट्नुपर्ने माग नेविसंघका नेता तथा कार्यकर्ताले गरेका थिए ।
माइघर मण्डलमा नाराबाजीसहित दोस्रो पटक फन्को लगाउन थालेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेको थियो ।
नेविसंघका कार्यकर्ताले माइतीघर मण्डलामा पुनः घुम्न खोज्दा झडप भएको थियो ।
प्रहरीले भिडलाई नियन्त्रणमा लिन लाठीचार्ज गर्दा नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाह, दुजाङ शेर्पा, श्याम ओझा लगायतका एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएको नेविसंघका नेता ऋषिकेशजंग शाहले जानकारी दिए ।
कुटाइ खाएर घाइते भएका नेविसंघका नेता दुजाङ शेर्पाले राष्ट्रका लागि ज्यान दिन तयार रहेको बताए ।
प्रहरीले हानेको लठ्ठीको घाउ देखाउँदै शेर्पाले भने, ‘हामीले सरकारमा बसेकाहरूको कुर्सी खोसेका थिएनौँ । कसैले खाँदै गरेको गास खोसेका थिएनौँ । भारत र चीनले मिचेको सीमाको रक्षा गर सरकार भनेर दवाव दिएका थियौँ । दमन गरियो ।’
उनले देशका लागि हाँसीहाँसी ज्यान दिन नेविसंघका नेता तथा कार्यकर्ताहरू तयार रहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया