महरालाई झन् तनाब बढ्यो

बनेपा । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले बोक्न नसक्ने बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपा नगर कमिटीले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले रहेका व्यक्तिले गर्न गल्तीमा पार्टीको कुनै भूमिका नहुने बताए ।

यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराको नाम उच्चारण नगरी मन्त्री बाँस्कोटाले व्यक्तिको गल्तीहरू पार्टीमा ल्याएर जोड्न नहुने बताएका हुन् ।

मन्त्री बाँस्कोटाले गल्ती गर्नेलाई नै कारबाही बोहोर्नुपर्ने बताए । ‘व्यक्तिले कहाँ भ्रष्टाचार गर्छ, त्यो पनि पार्टीले ग¥यो त ?’, उनले भने, ‘त्यही व्यक्तिलाई कारबाही हुनुपर्छ ।’

‘कहिलेकाहीँ गएर नचाहिएको काम गर्ला’, उनले भने, ‘हुलहुज्जत गर्ला, इज्जत खेलवाड गर्ला, त्यो उही जिम्मेवार हो नि, हामीलाई के मतलव ?’

कम्युनिष्ट पार्टी चरित्र र सम्मानसहितको पार्टी भएको भन्दै मन्त्री बाँस्कोटाले चिन्तित र तरगिंत नहुन कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् ।

‘यस्ता घटनाहरू समाजमा भइरहन्छन्’, उनले भने, ‘समाजमा राम्रा मान्छे पनि हुन्छन् । नराम्रा मान्छे पनि हुन्छन् ।’

‘नराम्रा पाखा लाग्छन्, राम्रा मान्छे कम्युनिष्ट पार्टीमा’, बाँस्कोटाले भनेका छन्, ‘कमिटी वा अन्य विषयमा धेरै चिन्तित हुनै पर्दैन, त्यही हो कुरा ।’

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री बाँस्कोटाको यो भनाइले महरालाई झन् ठूलो झट्का लागेको छ ।

Published : Thursday, 2019 October 3, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया