कम्युनिस्टकाे मण्डले शैली ठीक छैनः रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको रिसिङ गाँउपालिका भवन उद्घाटनका लागि पुगेका नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजाललाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूद्वारा मण्डले शैलीमा अवरोध गरेको बताएका छन् ।

वरिष्ठ नेता पौडेलले सोमवार विज्ञप्ति जारी गरेर सत्तारुढ नेकपाका कार्यकर्ताबाट भएको आक्रमणको विरोध गरेका हुन् ।

‘गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटनका लागि नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा.मीनेन्द्र रिजालबाट गराउने निर्णय भएको छ’, उनले भनेका छन्, ‘नेकपा कार्यकर्ताहरूले आफ्नो गाउँपालिकाको भवन उदघाटनका लागि बसेका लाखौँ जनतामाथि अपमान गरेका छन् ।’

‘भवन उदघाटनका लागि जान लाग्नुभएका नेतालाई जनतामा जान नदिनका लागि बाटो अवरोध गरेका छन्’, पौडेलले भनेका छन्, ‘नेकपाका कार्यकर्ताले एक्कासि मण्डले शैलीबाट बाटो अवरोध गरी कांग्रेस नेता डा.रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका छन् ।’

पञ्चायतका मण्डलेहरूको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको भन्दै उनले घटनाको घोर भर्त्सना गरेका छन् ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेको भन्दै वरिष्ठ नेता पौडेलले सरकारले यस्ता मण्डलेशैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुने बताएका छन् ।

Published : Monday, 2019 September 30, 6:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया