दाङमा कांग्रेसको ऐतिहाँसिक चुनावी कार्यक्रम, रामचन्द्र पौडेल उत्साहित
तुलसीपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिस्ट आफ्नै अन्तरकलहका कारण सिद्धिने निश्चित रहेको बताएका छन् ।
नेपाली कांग्रेस दाङले बिहीबार श्रीगाउँमा आयोजना गरेको सभालाई सम्बोधन गर्दे पौडेलले कम्युनिस्टहरू आफै समाप्त हुने बताएका हुन् ।
वरिष्ठ नेता पौडेलले दुई पार्टीको एकीकरणपछि देखिएको गुट, उपगुट र अन्तरद्वन्द्वका कारण दुईतिहाइको बलियो कम्युनिस्ट सरकार अप्ठ्यारोमा परेको बताए ।
‘नेपालमा कम्युनिस्ट व्यवस्था असफल भइसकेको छ’, उनले भने, ‘त्यसलाई सुधार गर्न चीनबाट कम्युनिस्टका नेता बोलाएर ट्युशन शुरू भएको छ ।’
पौडेलले अरुले सिकाएको कम्युनिस्ट व्यवस्था झन् कहिल्यै सफल नहुने बताए ।
नेता पौडेलले वर्तमान सरकार महंगी, भ्रष्टाचार र लुटतन्त्र मच्चाउन लागिपरेकोले सरकारविरुद्ध देशव्यापी खबरदारी गर्नु परेको बताएका छन् ।
वरिष्ठ नेता पौडेलले उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई आधिकारिक उम्मेदवारलाई मतदान गरेर जिताउन निर्देशन दिए । उनले अन्तरघात गर्नेलाई पार्टीले नछाड्ने चेतावनी पनि दिएका छन् ।
‘उपनिर्वाचन कांग्रेसका लागि ठूलो अर्थ राख्छ’, उनले भने, ‘यो निर्वाचनलाई जसरी पनि कांग्रेसले जित्नुपर्छ ।’
मंसिर १ मा हुने दाङ क्षेत्र नम्बर ३ खको प्रदेशसभा सदस्यको उप निर्वाचनलाई लक्षित गरि कांग्रेसले जिल्लामा सभा तथा कार्यक्रम बढाउँदै गएको छ ।
चुनावी कार्यक्रमअन्तर्गत बिहीबार आयोजित सभालाई पौडेलले सम्बोधन गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, राष्ट्रिय सभाकी सांसद अनिता देवकोटा, पूर्वसांसद राजु खनाल, पूर्वसांसद योगेन्द्र चौधरी, दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्का, रोल्पा कांग्रेसका सभापति अमर पुन, दाङ कांग्रेसका पूर्वसभापतिद्वय बीरकेश्वरी गौतम र घनश्याम रेग्मीलगायतका नेताहरूको सहभागिता रहेको थियो ।
उपनिर्वाचन लक्षित कार्यक्रममा उल्लेख नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया