ओलीका सात मन्त्रीहरू ‘गयल’, बिना मगर कता गायब ?
काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले बोलाएको बैठकमा सात जना मन्त्रीहरू अनुपस्थित भएका छन् ।
बैठकमा अनुपस्थित हुनेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी एवम् खानेपानी तथा सरसफाइमन्त्री बिना मगर पनि छिन् ।
सिंहदरबारमा बिहीबार ओलीले मन्त्रालयहरूको समीक्षा बैठक बोलाएका थिए । महत्वपूर्ण मन्त्रलायका मन्त्रीहरू नभएपछि सात जना मन्त्री बस्ने सिट खाली थियो ।
कम्युनिस्ट सरकारका उपप्रधान एवम् स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादव, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वनमन्त्री शक्ति बस्नेत, उर्जामन्त्री बर्षमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, अर्थमन्त्री युवराज खतिवडा र खानेपानी तथा सफसफाइमन्त्री बिना मगर ओलीले बोलाएको बैठकमा अनुपस्थित रहेको स्रोतले जनाएको छ ।
उपप्रधानमन्त्री यादव अमेरिकामा छन् । संविधान दिवस बहिस्कार गरेर मन्त्री यादव अमेरिका उडेका थिए । उपप्रधानमन्त्री यादव संयुक्त राष्ट्रसंघको सम्मेलनमा भाग लिन गएको भनिएपनि भ्रमणको प्रायोजन खुलेको छैन ।
परराष्ट्रमन्त्री ज्ञवाली संयुक्त राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका गएका हुन् । मन्त्री ज्ञवाली आफ्नी पत्नी सरस्वती ज्ञवालीलाई साथमा लिएर अमेरिका उडेका हुन् ।
वनमन्त्री बस्नेत पनि अमेरिकामा छन् । उनी पनि राष्ट्रसंघ महासचिवको अध्यक्षतामा हुने जलवायु सम्बन्धी सम्मेलनमा भाग लिन न्यूयोर्क पुगेका हुन् । मन्त्री बस्नेतसँग उनकी श्रीमती सत्या पहाडी सहभागी छिन् ।
उर्जामन्त्री वर्षमान पुन जापानमा छन् । पुन नलसिंहगाढ जलविद्युत आयोजनाको लगानी जुटाउन जाइकाको निमन्त्रणमा जापान गएका जनाइएको छ ।
पर्यटन मन्त्री योगेश भट्टराई क्यानडामा छन् । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको महासभामा भाग लिन भन्दै मन्त्री भट्टराई मोन्ट्रियल पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले बोलाएको समीक्षा बैठकमा नेपालमै भएका मन्त्रीहरू पनि सहभागी भएनन् ।
अर्थमन्त्री युवराज खतिवडा तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा सहभागी हुन रुपन्देही पुगेका छन् ।
खानेपानी तथा सरसफाइमन्त्री बिना मगर निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुन कञ्चनपुर पुगेकी छिन् । उनले छोराको तस्वीर फेसबुकमा हालेर कञ्चनपुरतिर रमाइलो गरिरहेकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया