गगनले भेटे घाइते सभापति, अरिँगालहरूलाई सुध्रिन चेतावनी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले बाँके कांग्रेसकी सभापति किरण कोइरालासँग भेट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

जुम्लामा पार्टीको कार्यक्रममा सहभागी जाने क्रममा थापाले बिहीबार बिहान सभापति कोइरालालाई भेट गरी स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

कोइरालासँगको भेटका क्रममा युवा नेता थापाले मुलुकमा दुईतिहाइको बलियो कम्युनिस्ट सरकार हुँदा पनि जनताले शान्ति सुरक्षा र कानून शासनको अभुनभूति गर्न नसकेको बताएका थिए ।

नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंहका अनुसार केन्द्रीय सदस्य थापाले सत्ताको उन्मादबाट नेकपाका नेता तथा कार्यकर्ताहरूमा घमण्डले जरो गाडेका कारण अराजक बन्दै गएको बताएका छन् ।

युवा नेता थापाले नेकपाका नेता तथा कार्यकर्ताहरूलाई सुध्रिन पनि चेतावनी दिएका छन् । अन्यथा कांग्रेसका युवा तरुणहरू चुप लागेर नेकपाको ज्यादती सहेर बस्ने अवस्थामा नरहने थापाले बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेस बाँकेकी सभापति कोइराला घाइते भएकी थिइन् । उनको एउटा हात भाँच्चिएको छ ।

Published : Thursday, 2019 September 26, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया