प्रचण्ड-रेणुका कारण हराएकाे कांग्रेस चितवनमा फेरि ब्युझियाे, खाँणले दिए मनाेबल

भरतपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले बाहिर भ्रष्टाचार अन्त्य गर्ने नारा लगाए पनि भित्रीरुपमा संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसले शुरु गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन मंगलवार नारायणगढको पुलचोकमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै खाँणले भ्रष्टाचारी कारबाही गछौं भन्दै हिँड्ने प्रधानमन्त्री र नेकपाका नेतालाई कांग्रेसले ऐना देखाइदिने बताए ।

खाँणले सरकारले जनताको गुनासो सुन्न छोडेकोले अब कालो झण्डाको ठाउँमा ऐना देखाउने अभियान चलाउनुपर्ने बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीले गरेको प्रशिक्षण कार्यक्रमप्रति लक्षित गर्दै नेता खाँणले नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन बनेको बताए ।

दुनियाँका कुनै पनि कम्युनिष्ट पार्टी राष्ट्रवादी हुनै नसक्ने दाबी गरे गर्दै नेता खाँणले भने, ‘कम्युनिस्ट पार्टी चिनियाँको सिको गर्दै निरंकुश बन्न खोजिरहेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले नेपालमा लोकतन्त्र स्थापनाको लागि कांग्रेसको महत्वपूर्ण योगदान दिएको भन्दै कांग्रेसको विरोध गर्नेहरू आफै समाप्त भएर जाने बताए ।

उनले भने, ‘कांग्रेसको विचारलाई दबाउन खोज्दा हिजो राणा, पञ्चायत र राजतन्त्र सिद्धिएको भन्दै अब सिद्धिने पालो ओलीको आएको छ ।’

जसले जनतालाई स्वीकार गरेन, जसले लोकतन्त्र र कांग्रेसलाई स्वीकार गरेन ती सबै समाप्त भएको बताए । उनले लोकतन्त्र र विधिको शासन नमानेर यो सरकारले संविधान च्यात्न खोजेको आरोप लगाए ।

उनले भने, ‘सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ जुन नेपाली कांग्रेसलाई स्वीकार्य छैन ।’

लोकतन्त्रलाई कमजोर पार्न ओली सरकारको निशानामा संविधान परेको उनले बताए ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा भएको विरोध सभामा नेता खाँडले सरकारले जुन मानवअधिकार ऐन ल्याएको छ जसमा अन्तर्राष्ट्रिय अभिसन्धिको खिलापमा ल्याउने प्रयास भएको बताए ।

उनले यो विद्येयक सिंहदरबारबाट फर्काएर लैजाउ भन्दै कांग्रेस यसको विरोधमा उभिएको दाबी गरेका छन् ।

उनले भने, ‘राष्ट्रियताको दुईतिहाइको दुहाइ दिएर नथाक्ने ओलीले ल्याएको सुरक्षा परिषद्को प्रस्तावित विद्येयकमा नेपाली सेनालाई आफ्नो मनखुसी प्रयोग गर्ने गरी बिधेयक ल्याइयो । जसको हामीले विरोध गरेका छौं ।’

पुलचोकमा सभा हुनुभन्दा पहिले भरतपुर चौबीसकोठीबाट कांग्रेस चितवनले विरोध र्‍याली निकालेको थियो ।

Published : Wednesday, 2019 September 25, 12:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया