संघलाई कांग्रेसले कब्जा गर्ने, फोरमबाट पहिलो पटक सर्वसम्मत टिम घोषणा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले सर्वसम्मत टिम घोषणा गरेको छ ।

संघमा राम्रो बर्चश्व हुँदाहुँदै गुटफुट र विवादका कारण सधै पराजित हुँदै आएको फोरमले यस पटक सर्वसम्मत रुपमा विष्णुप्रसाद गैरेको नेतृत्वमा टिम खडा गरेको छ ।

सर्वसम्मत टिम बनाउन वरिष्ठ व्यवसायी एवम् नेपाली कांग्रेसका नेता किरण किशोर घिमिरे, विमल ढकाल, प्रज्ञान न्यौपाने, तिलक रानाभाटलगायतले विशेष भूमिका खेलेका थिए ।

उनीहरूकै पहलमा पहिलो पटक वैदेशिक रोजगार व्यवसायी संघमा नेपाली कांग्रेस निकटको फोरमले सर्वसम्मत रुपमा टिम मिलाएर घोषणा गरेको हो ।

फोमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेका अनुसार यस पटक वैदेशिक रोजगार व्यवसायी संघमा नेपाली कांग्रेसको सर्वसम्मत टिम आएकाले क्लीन स्वीप गर्ने दाबी गरे ।

‘नेपाली कांग्रेस निकटका हामी व्यवसायीहरू सधैँ विवादित र विभाजित हुँदा कम्युनिस्टहरूले संघमा जित्दै आएका थिए’, उनले भने, ‘यस पटक हामी एकजुट भएर सर्वसम्मत टिम बनाएका छौँ । विष्णु गैरे नेतृत्वको टिमले क्लीन स्वीप गर्नेमा ढुक्क छौँ ।’

फोरमका पूर्वअध्यक्ष एवम् वरिष्ठ व्यवसायी किरण किशोर घिमिरेले पनि यस पटक नेपाली कांग्रेस निकटका व्यवसायीहरूको पूरै टिम संघमा विजयी भएर आउने दाबी गरे ।

‘हामीले यस पटक जित्छौँ । यसअघि विभिन्न कारणले गुटउपगुटमा विभाजित भएका थियौँ । त्यसको फाइदा विरोधी समूहले लिए’, उनले भने, ‘यस पटक नेपाली कांग्रेसको टिमले जित्ने सुनिश्चित जस्तै छ ।’ घिमिरेले विष्णु गैरे नेतृत्वको टिममा उच्च मनोबल रहेको भन्दै निर्धक्का साथ मैदानमा उत्रिन शुभकामना दिएका छन् ।

नेपाली कांग्रेस निकटको फोरमले संघमा विष्णु गैरेलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजितकुमार श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल, कोषाध्यक्षमा ईन्दिरा गुरुङलाई फोरमले उम्मेदवार बनाएको छ ।

सदस्यहरूमा कर्णराज कटुवाल, दिनेशकुमार राय ‘राहुल’, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर ‘नरेन्द्र’, केशवराज न्यौपाने, छविलाल भट्टराई, जंगबहादुर ईजम र लक्ष्मण पौडेल उम्मेदवार बनेका छन् ।

वैदेशिक रोजगार व्यसायी संघको नयाँ कार्यसमितिका लागि असोज ७ गते काठमाडौंमा निर्वाचन हुँदै छ । निर्वाचनको तयारी र प्रचार प्रसार शुरु भइसकेको छ ।

वैदेशिक रोजगार व्यवसायीहरूलाई तह लगाउने गरेर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले धरौटीदेखि हरेक क्षेत्रमा पेलेर लगेकै बेला संघको निर्वाचन हुँदै छ । निर्वाचनमा यो विषय प्रमुखताका साथ उठ्नेछ ।

संघमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटबाट सरोज पोखरेलको नेतृत्वमा टिम खडा गरिएको छ । नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादीहरूका बीच विवाद छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा शनिबारसम्म ६ सय ५८ जना व्यवसायीहरूले सदस्यता नवीकरण गरेका छन् ।

Published : Saturday, 2019 September 21, 2:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया