अधिनायकवादी कम्युनिस्टहरूलाई फाल्ने समय आयोः कांग्रेस नेता महर्जन
सिन्धुपाल्चोक । कांग्रेस केन्द्रीय प्रतिनिधि एवम् युवा नेता मीनकृष्ण महर्जनले नेपाली जनताको रगत पसिना बगाएर सयौँ जनताको बलिदानीले ल्याएको लोकतान्त्रिक व्यवस्था तानाशाह कम्युनिस्टहरूका कारण खतरामा परेको बताएका छन् ।
नेपाली कांग्रेसको दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान अन्तर्गत शुक्रबार सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ ‘क’ लिसंखुपाखर सिलढुंगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले दुईतिहाइको बहुमतको आडमा कम्युनिस्टहरूले संविधान विरोधी हर्कत गरेका कारण संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा परेको बताए ।
‘नेपाली कांग्रेसको नेतृत्वमा आएको संविधान उल्लंघन दुईतिहाइको बलियो कम्युनिस्ट सरकारबाट नै उल्लंघन भएको छ’, उनले चेतावनी शैलीमा भने, ‘सभामुख र उपसभामुख एउटै दलको छ । संविधानले दिएका अधिकारहरूलाई कुल्चिएर संसदमा धमाधम विधेयकहरू ल्याइएको छ । यो सबै कम्युनिस्ट अधिनायकवाद ल्याउने चाल हो । कांग्रेसलाई सैह्य छैन ।’
नेपाली कांग्रेसका युवा नेता महर्जनले आवश्यक पर्यो भने कम्युनिस्टहरूविरुद्ध जनतालाई सडकमा उतारेर संविधान र लोकतन्त्रको रक्षाका लागि प्रतिकार गर्ने चेतावनी दिए ।
उनले जहाँ पनि कर लगाउने कार्यले गाउँका गरिव जनतामाथि अन्याय भएको बताए । उनले भने, ‘गरिव जनतालाई कर लगाएर कम्युनिस्टहरूले दुःख दिएको छ । सत्तामा बसेकाहरूका लागि सुविधा दिन सामान्य कुरामा पनि चर्को कर लगाइएको छ ।’
खड्गप्रसाद ओली नेतृत्वको दुईतिहाइको बलियो कम्युनिस्ट सरकार चरम भ्रष्टाचारमा डुबेको भन्दै नेपाली कांग्रेसका युवा नेता महर्जनले भने, ‘यो सरकार काण्डैकाण्डमा फसेको छ । यस्तै हर्कत बढ्दै गयो भने यो सरकार धेरै टिक्न सक्ने छैन । आफै ढल्छ ।’
जनतामा कम्युनिस्ट सरकारको व्यवहार देखेर बितृष्णा जागेको उनले बताए । जनताको साथ लिएर नेपाली कांग्रेस सडक आन्दोलनबाट निरंकुश सरकारविरुद्ध आन्दोलन गर्ने बेला आउँदै गरेको उनले बताए । युवा नेता महर्जनले अधिनायकवादी ओली सरकारलाई फाल्न जरुरी भइसकेको उल्लेख गरेका छन् ।
अबको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ता एकजुट भएर कम्युनिस्टहरूलाई परास्त गर्नुपर्ने भन्दै महर्जनले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
‘सिन्धुपाल्चोक जिल्ला कम्युनिस्टको गढका रुपमा बलियो हुँदै छ’, उनले भने, ‘कम्युनिस्टहरूको एकाधिकारलाई सिन्धुपाल्चोकबाट तोड्नु पर्छ । झुठको खेती गर्ने कम्युनिस्टहरूको कुनै स्थान छैन ।’
नेपाली कांग्रेसका युवा नेता महर्जनले स्थानीय नेता तथा कार्यकर्ताहरूको भावनालाई जस्तोको त्यस्तै समेटेर आफूले केन्द्रमा प्रतिवेदन बुझाउने बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको विकासमा ठूलो योगदान गरेको महर्जनले बताए । ‘सिन्धुपाल्चोकको विकासमा मोहनबहादुर बस्नेतले गरेको योगदानलाई कांग्रेसका कार्यकर्ताले कहिल्यै भुल्नु हुँदैन’, उनले भने, ‘कांग्रेसले मात्रै होइन अरु दलका कार्यकर्ताले पनि कांग्रेसको योगदानलाई भुल्नु हुँदैन ।’
केन्द्रीय प्रतिनिधि एवम् नेपाली कांग्रेसका युवा नेता महर्जनले कांग्रेसका मोहनबहादुर बस्नेत प्रतिनिधि सभामा पराजित हुँदा यो क्षेत्रका जनताले कति दुःख पाएका छन् त्यो सबैलाई थाहा भएको बताए । ‘मोहनबहादुर बस्नेतले जितेको भए यहाँको विकास गर्न सजिलो हुने थियो । नेकपाका अग्नि सापकोटाले जित्दा विकास हुनै छाड्यो’, उनले भने, ‘कांग्रेसको पालमा कति विकास भएको थियो । कम्युनिस्टले जित्दा कति विकास भयो त्यसको आफै थाहा पाउन सक्नु हुन्छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नेकपाका सांसदहरूले सिन्धुपाल्चोक जिल्लामा सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप लगाए ।
‘नेकपाका सांसदहरूले आफ्ना कार्यकर्ता पोस्न सांसद विकास कोषको रकम दुरुपयोग गरेका छन्’, उनले भने, ‘यस्ता हर्कत र कार्यको नेपाली कांग्रेसले विरोध गर्नेछ ।’
नेता बस्नेतले जिल्लाको विकासभन्दा पनि कार्यकर्ताको विकास चाहने नेकपाका सांसद र नेताहरूको भण्डाफोर गरिने बताएका छन् ।
कम्युनिस्टको शासन व्यवस्थामा शान्ति सुरक्षा बिग्रिएको पूर्वमन्त्री बस्नेतले बताए । ‘काठमाडौंको नयाँ बानेश्वरमा दिनदाहडै निर्माण व्यवसाय महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानी हत्या अभियोगमा पक्राउ परेका ६ जना मध्यमा ५ जना जेल जाने अनि त्यही अभियगमा पक्राउ परेका गृहमन्त्रीको भाई चाहिँ छुट्ने ? यो कस्तो कानून हो ?’, उनले भने, ‘अहिले न्यायलय, पुलिस, प्रशासन अख्तियार पूरै कम्युनिस्ट सरकारले आफ्नो कब्जामा लिएर नेपाली जनतालाई दुःख दिने गरेको छ ।’
नेता बस्नेतले कांग्रेसका केही स्थानीय नेताहरूमाथि आक्रोश पोखेको छन् । ‘पञ्चायती शासन, कम्युनिस्टसंग मैले लड्नु पर्ने । कांग्रेसको नेता हु भन्ने अनि चुनावको दिन भोट कम्युनिस्टलाई हाल्ने ?’, बस्नेतले भने, ‘कांग्रेसविरुद्ध लाग्नेहरूलाई पार्टीले छाड्दैन । कारबाही हुन्छ ।’
सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ ‘ख’ मा खटिएका केन्द्रीय प्रतिनिधि रसुवा जिल्लाका पूर्व सभापति लामा कार्बु तामाङ, क्षेत्रीय अध्यक्ष बालकृष्ण बस्नेत, सुनकोसी गाउँपालिका अध्यक्ष विनोद जिसी, महासमिति सदस्य प्रेमध्वज लामा, हरिशरण केसी लगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया