शुक्रबार बिहान राजविराजमा प्रदर्शन, सरकारविरुद्ध नारावाजी

राजविराज । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान दिवसका दिन सप्तरीको राजविराजमा विरोध प्रदर्शन गरेको छ ।

राजपाका महासचिव एवम् प्रदेश सांसद मनीष सुमनको नेतृत्वमा शुक्रबार बिहान राजविराजमा कालो दिवस मनाइएको हो । महासचिव सुमनले संविधान दिवसलाई आफूहरूले कालो दिवसका रुपमा मनाएको बताए ।

उनले संविधानले मधेसी, आदिवासीहरूलाई विभेद गरेको बताए । ‘यो संविधानले मधेसी जनतालाई विभेद गरेको छ’, महासचिव सुमनले भने, ‘पार्टीको निर्णयअनुसार हामीले तराईका जिल्लाहरूमा आज कालो दिवस मनाएका छौं ।’

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले काठमाडौं उपत्यकासहित देशभरि विभिन्न कार्यक्रम गरेर चौथो संविधान दिवस मनाइ रहेका बेला राजपा नेपालले संविधान दिवसको विरोधमा कालो दिवस मनाएको हो ।

हुन राजपा नेपाल यही संविधानअनुसार प्रदेश दुईको सरकारमा सहभागी छ । राजपाका सांसदहरू मन्त्री समेत छन् ।

राजपाका नेताहरूले सरकारविरुद्ध नारावाजी गर्दै संविधान संशोधनको माग गरेका थिए । उनीहरूले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले धोका दिएको आरोप पनि लगाए ।

Published : Friday, 2019 September 20, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया