कम्युनिस्टको सामना गर्ने ललितपुर कांग्रेसका युवा नेताहरूको घोषणा

ललितपुर । नेपाली कांग्रेस ललितपुरले राष्ट्रिय जागरण अभियानको दोस्रो चरणका कार्यक्रमअन्तर्गत बिहीबार विभिन्न कार्यक्रमहरू गरेको छ ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’मा जागरण अभियानका विभिन्न कार्यक्रमहरू गरिएको छ । कार्यक्रममा युवा तरुणका साथै नेपाली कांग्रेसका शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसांसद एवम् पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणा, नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन, महिला नेतृ एवम् गाेदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उनीहरूले जनताले विश्वास गरेर कम्युनिस्टहरूलाई झण्डै दुईतिहाइको मत दिँदा पनि काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।

उनीहरूले देश विकास र जनताको काम गर्न नेपाली कांग्रेसले मात्रै सक्ने बताएका थिए ।

कम्युनिस्टहरूको तानाशाही प्रवृत्तिले जनतामा निरासा छाएको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेसले संगठन बनाएर पार्टीलाई बलियो बनाउनुपर्ने उल्लेख गरे ।

नेपाली कांग्रेसका युवा नेताहरूले अधिनायक बन्दै गएका कम्युनिस्टहरूका विरुद्ध एक भएर मुकाविला गर्नुभन्दा अर्को बिकल्प नरहेको भन्दै गुट र उपगुटका स्वार्थ भुलेर कांग्रेस बनाउने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टीलाई नेताहरूको व्यक्तिगत स्वार्थभन्दा माथि राखेर लैजान सुझाव दिएका थिए ।

उनीहरूले ठूला नेताहरूका कारण गाउँका कार्यकर्ताको मनोबल कमजोर भएको गुनासो गरेका थिए । उनीहरू केन्द्रमा ठूला नेताहरू झगडा नगरेर बस्ने हो भने कांग्रेस आफै सशक्त भएर आउने बताएका थिए ।

हिमाल, पहाड, तराई–मधेस दोस्रो चरणको राष्ट्रिय जागरण आभियन अन्तर्गत नेपाली कांग्रेसल ललितपुरले क्षेत्र नम्बर १ को प्रदेश ‘क’ र ‘ख’का विभिन्न स्थानमा तरुण भेला कार्यक्रम राखेको थियो ।

Published : Thursday, 2019 September 19, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया