मंगलबार बिहानैदेखि शुरू भयो कांग्रेसको उत्सव, ठाउँठाउँमा भव्य कार्यक्रम

काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारले सत्ताकब्जामा लागेको आरोप लागिरहेका बेला नेपाली कांग्रेसले मंगलबार देशभरि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरू गरेको छ ।

नेपाली कांग्रेसले हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान मंगलबार बिहानैदेखि विभिन्न स्थानहरूमा रुख रोपेर कार्यक्रम शुरु गरेको हो ।

नेपाली कांग्रेसले हरेक प्रदेशसभा क्षेत्रमा १०६ वटा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान शुरु गरिएको छ ।

नेपाली कांग्रेस संस्थापक नेता वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर शुरु गरिएको अभियानको उद्घाटन भव्य रुपमा भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

उनले समग्रमा देशभर ३४ हजार ९ सय ८० बिरुवा रोपिने बताएका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि ३ सय ३० प्रतिनिधिहरू सम्बन्धित क्षेत्रमा खटिएका छन् ।

१५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा एकसाथ दुईतिहाइको बलियो निरंकुश कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरिनेछ ।

जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तर्क्िरया, स्थानीय तहको दुई वर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेश लगायतका कार्यक्रम हुनेछन् ।

केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित क्षेत्रका अग्रजहरू, सहिद परिवारहरू, द्वन्द्वकालका घाइतेहरू एवं विभिन्न आन्दोलनका घाइतेहरूको घरमै पुगेर अवस्था बुझ्ने र सल्लाह सुझावहरू संकलन गर्ने कांग्रेसले जनाएको छ ।

स्वदेश र विदेशमा रहेका सबैलाई उत्साहपूर्वक जागरण अभियानमा सरिक हुन नेपाली कांग्रेसले आह्वानसमेत गरेको छ ।

Published : Tuesday, 2019 September 10, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया