देउवासहितका ठूला नेताहरूलाई पनि जिल्लामा खटाइयो
काठमाडौं । नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको १०६औं जन्म जयन्तीका दिन प्रारम्भ हुने हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरणको दोस्रो चरणको अभियानको कार्यक्रमअन्तर्गत सभापति शेरबहादुर देउवासहित शीर्ष नेता र पदाधिकारीहरूलाई विभिन्न जिल्लामा खटाएको छ ।
नेपाली कांग्रेसले मंगलबार भदौ २४ गते केन्द्रीय पदाधिकारीहरूलाई देहायका स्थानमा सम्बोधन गर्ने गरेर खटाएको छ ।
सभापति शेरबहादुर देउवाले सुनसरीको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्कीमा सम्बोधन गर्ने कार्यक्रम रहेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
उपसभापति विमलेन्द्र निधिले धनुषा र अर्का उपसभापति विजयकुमार गच्छदारले सुनसरीको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्नेछन् ।
महामन्त्री डा.शशांक कोइरालाले मकवानपुर तथा महामन्त्री पूर्णबहादुर खड्काले भक्तपुरको दोस्रो चरणको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा.प्रकाशशरण महतले काठमाडौंमा हुने अलग अलग कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
नेपाली कांग्रेसले दोस्रो चरणको कार्यक्रम अन्तर्गत मंगलबारदेखि जागरण अभियान शुरु गर्दै छ ।
दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले दिएको पीडा र समस्याका विषयमा नेपाली कांग्रेसले भण्डाफोर गर्नेछ ।
भ्रष्टाचार, महँगी, अनियमितता, अराजकतासहितका विषयलाई नेपाली कांग्रेसले जागरण अभियानका क्रममा उठाउनेछ ।
त्यति मात्रै होइन नेपाली कांग्रेसले आफ्नो संगठन सुदृढीकरणलाई पनि बनाउनेछ । कम्युनिस्टहरूको गलत कुराको हर्कतबाट आजित बनेका जनतालाई गोलबन्द गरेर नेपाली कांग्रेसले दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध जनतालाई एकबद्ध गराउनेछ ।
नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानले गाउँका नेता तथा कार्यकर्तामा उत्साह बढेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया