सरकारका सबै विधेयक संविधान विपरितः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेसले नेपाल सरकारद्वारा संघीय संसदमा प्रस्तुत गरी सम्बन्धित विषयगत समितिहरूमा छलफलको क्रममा रहेका विधेयकहरू संविधानको मर्म र भावना विपरित रहेको जनाएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्ति जारी गरे सरकारले संसदमा पेस गरेका विधेयकहरू संविधान विपरित रहेको सांसदहरूले भन्दाभन्दै पनि सरकार गम्भीर नभएकोमा चिन्ता जनाएका छन् ।

‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’, ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लगायतका विधेयकहरू संविधान प्रतिकूल रहेको सांसदहरूले प्रस्तुत गर्दा पनि गम्भीरता नदेखाएको आरोप कांग्रेसले लगाएको छ ।

संशोधन प्रस्ताव र समिति एवं उपसमितिहरूमा राखेको फरक मतप्रति वर्तमान सरकार संवेदनशील नभएको भन्दै खाँणले नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपालको संविधानको प्रस्तावना, प्रावधान र व्यवस्थालाई उलंघन गर्दै संविधान प्रतिकूलका कुनै पनि विधेयकहरू नेपाली कांग्रेसलाई स्वीकार्य नरहेको उनले बताएका छन् ।

‘संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी प्रस्तुत भएका विधेयकहरूलाई तत्काल सच्चाउन नेपाली कांग्रेस जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसले संसदमा पेश भएका विधेयकहरूको विपक्षमा संसदमा जोडदार रुपमा धारणा राख्दै आएको छ ।

Published : Monday, 2019 September 9, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया