कम्युनिस्टविरुद्व भक्तपुरबाट कांग्रेसको ऐतिहाँसिक जितको सुरुवात हुन्छः देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीलाई जुनसुकै हालतमा जिताउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

भक्तपुरमा नेपाली कांग्रेसको प्रदेश ३ स्तरीय प्रशिक्षणको उद्घाटनसत्रलाई शुक्रबार सम्बोधन गर्दै पार्टीभित्रैबाट उम्मेदवारलाई हराउने विगतका हर्कत नदोहर्‍याउन चेतावनी दिए ।

सभापति देउवाले भने, ‘अब पनि त्यस्तो प्रवृत्ति दोहोरिएमा छानविन गरी कडा कारबाही गर्छु । त्यस्ता अन्तर्घातीलाई कारबाहीबाट कसैले रोक्न खोज्या भनेर सबै कुरा बाहिर ल्याइदिन्छु ।’

भक्तपुर जिल्लाको प्रतिनिधिसभा क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र ‘क’ मा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

नेपाली कांग्रेसका सभापति देउवाले भने, ‘भक्तपुर ऐतिहासिक ठाउँ हो । यही ठाउँबाट ऐतिहासिक जित सुरू हुनुपर्छ ।’

उनले पार्टीका आधिकारिक उम्मेदवारलाई जसले हराउने भूमिका खेल्छ त्यसलाई कारबाही गरिछाड्ने चेतावनी दिएका छन् ।

‘अन्तरघात गर्नेलाई कारबाही गर्दा को रोक्न आउने रहेछ म पनि हेर्छु’, उनले चेतावनी शैलीमा भने, ‘अन्तर्घातलाई निमिट्यान्न पारेर जसरी पनि चुनाव जित्नुपर्छ । अन्तर्घात गर्नेलाई सघाउनेको अनुहार बाहिर ल्याउँछु ।’

देउवाले अन्तर्घात गर्नेहरूलाई कारबाही नगरे फेरि पनि कांग्रेस हार्ने बताए । ‘पार्टी किन हा¥यो हिजो ? पार्टीमा साँच्चै एकता छ ? एकता हुँदाहुँदै हारेको हो ?’, भन्ने प्रश्न गर्दै उनले भने, ‘एकले अर्कालाई हराउने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’

नेपाली कांग्रेसका सभापति देउवाले दुईतिहाइको कम्युनिस्ट सरकारले नेकपाप्रति प्रतिवद्ध पुलिस, आर्मी र ब्यूरोक्रेसी बनाउन खोजेको आरोप लगाए ।

जनताले तिरेको करबाट तलब खाने पुलिस, आर्मी र कर्मचारीतन्त्रलाई तर्साएर धम्क्याएर नेकपाप्रति प्रतिवद्ध बनाउन खोजेको उनले बताए । ‘सरकार बदलिनु स्वभाविक कुरा हो’, देउवाले भने, ‘तर सिस्टम बदल्न खोज्नु सामान्य होइन ।’

कम्युनिस्ट अधिनायकवादविरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि कांग्रेस तयार रहेको उनले बताएका छन् ।

नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश ३ को सात जिल्ला नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलाखा र रामेछाप जिल्ला महासमिति सदस्यहरूलाई शुक्रबार र शनिबार दुई दिन भक्तपुरको बोडेमा प्रशिक्षण दिन लागेको आयोजिक जिल्ला भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले जानकारी दिए ।

Published : Friday, 2019 September 6, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया