‘चाकडी’ गर्न सिंगापुरमा ठूला नेता र व्यापारीहरूको जुलुस

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओली शुक्रबार स्वदेश फर्किदै छन् ।

मृगौलाको सफल उपचारपछि स्वदेश फर्किने मिति सार्वजनिक भएपछि नेकपाका नेताहरू स्वास्थ्य लाभको कामना गर्न सिंगापुर नै पुगेका छन् ।

नेताहरूले स्वास्थ्य लाभको कामना गर्नु त ठीकै हो । तर, लाखौँ रकम खर्च गरेर सिंगापुर भेट्न जानुलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।

ओलीलाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल, सचिवालय सदस्य बामदेव गौतम, उर्जामन्त्री वर्षमान पुन सिंगापुर गइसकेका छन् ।

उनीहरूले ओलीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । उनीहरू सिंगापुर जानुको आफ्नै स्वार्थ रहेको चर्चा भएको छ ।

विशेष बामदेव गौतमले कास्कीबाट उपनिर्वाचनमा उम्मेदवारी दिने विषयमा ओलीलाई सहमत गराउन सिंगापुर गएको चचा छ । नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले सिंगापुरमा ओलीलाई भेट्न गएको विषय रुचाएका छैनन् । उनीले ओलीलाई भेट्ने जानेहरूको आलोचना गरेका छन् ।

ओलीलाई शुभकामना दिन जानेमा ठूला व्यापारीहरू सुरज बैद्य, चन्द्र ढकाल र दीपक मल्होत्रा पनि छन् । उनीहरू सबैले ओलीलाई भेटेको स्रोतले जनाएको छ । उनीहरू सबै ओलीलाई चाकडी गर्न गएको नेकपाकै नेताहरूले आरोप लगाएका छन् ।

एनआरएनएका अध्यक्ष भवन भट्टले ओलीलाई भेट्न जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्सी सेवन गरेर बबण्डर मच्चाएपछि गलहत्याइएका थिए । उनीसँगै सञ्चारकर्मी सनत न्यौपाने पनि रक्सी खाएर अभद्र कार्य गर्दा गलहत्याइएर विमानस्थलबाट निकालिएको थियो ।

यता, पार्टी एकीकरण भएको चौध महिनापछि पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको भूमिकामा देखिएसँग सर्कुलार जारी गरेर एकाएक चर्चामा आएका छन् । प्रधानमन्त्री ओलीले सिंगापुरमा रहेका बेला दाहालको सर्कुलर काण्डले पार्टीभित्र हँगामा नै भएको छ ।

भदौ नौ गते सचिवालयको बैठक बोलाएर बिभिन्न निर्णय गरेका दाहालले भदौ १३ गते निर्णयबारे मातहत कमिटीलाई निर्देशन दिन आफ्नो एकल हस्ताक्षरमा अन्तरपार्टी निर्देशन जारी गरेका छन् । यसअघि प्रधानमन्त्री ओली र दाहालको संयुक्त हस्ताक्षरमा सर्कुलर जारी हुने गरेका थिए ।

उता, नेकपाले पार्टीभित्र अनुशासनलाई कडाइपूर्वक लागू गर्ने सचिवालयको निर्णयसँग अध्यक्षहरू र महासचिवको भूमिका बढाउने गरी अन्तरपार्टी निर्देशिका जारी हुनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । स्थायी कमिटी सदस्य बेदुराम भुसालले विधानमा भएको कुरा अन्तरपार्टी निर्देशनमा लेखिरहनु जरुरी नभएको बताएका छन् ।

उता, नेकपाले विदेशमा रहेको प्रवासी समर्थकहरूलाई छ क्षेत्रमा विभाजित गरेर संगठित गर्नेछ । ती संगठित हुने कमिटीहरू भूमिगत हैसियतमा रहनेछन् ।

हङकङ, मलेसिया, कोरिया, सिंगापुर र जापानलाई पूर्वी एशिया, अस्ट्रेलिया त्यस आसपासको क्षेत्रलाई ओसियना, खाडीका देशहरुलाई मध्यपूर्व क्षेत्रमा विभाजन गरिएको छ ।

युरोप, अमेरिका र भारतलाई अलग–अलग क्षेत्रमा विभाजित गरेर प्रवासमा संगठन विस्तार गरिनेछ । प्रवासलाई गैर भौगोलिक प्रदेश कमिटी बनाउने र ६ क्षेत्रमा विभाजन गरेर संगठन निर्माण गर्ने सुझाव दिएको छ ।

वैदेशिक रोजगारीमा गाएका, उतै स्थायी बसोबास गर्ने पार्टी समर्थक नेपालीलाई एमाले र माओवादीले छुट्टाछुट्टै संगठित गर्दै आएका थिए । दुवै दलका २६ देशहरुमा पार्टी संगठन रहेका थिए । दलहरुका लागि प्रवासको संगठन आम्दानी स्रोत समेत हो ।

गत संसदीय चुनावमा तत्कालीन एमालेले प्रवास कमिटीलाई चन्दा प्रमुख स्रोतको रुपमा परिचालन गरेको थियो । विदेशमा एमालेका खुला मोर्चाका रुपमा प्रवासी नेपाली मञ्च र माओवादीका जनप्रगतिशील मञ्च रहेका थिए ।

हङकङ, कोरिया, मलेसिया,जापान, अस्ट्रेलिया, कतार, कुवेत, युएई, साउदी अरब, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, जर्मनी, अमेरिकासहितका देशका कमिटीले जिल्ला कमिटीको मान्यता पाएका छन् ।

Published : Thursday, 2019 September 5, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया