गगनको भाषणले नेकपाभित्र फेरि खैलाबैला, ओलीकाे राजीनामा माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् युवा नेता गगनकुमार थापाले बिरामी प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई नेपाल कम्युनिस्ट पार्टीले अन्याय गरेको आरोप लगाएका छन् ।
संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले बिरामी मान्छेलाई बिश्राम गर्न नदिएर नेकपा र नेकपाका नेताहरूले अन्याय गरेको बताए । उनले ओलीलाई बिश्राम गराएर नेकपाकै अर्को नेता प्रधानमन्त्री बन्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्ने नेकपाका युवा नेता र नजिकका व्यक्तिहरूले विशेष गरेर सबैभन्दा धेरै अन्याय गरेको थापाले टिप्पणी गरे ।
नेपाली कांग्रेसको दुई महिना लामो केन्द्रीय कार्यसमितिले संसदमा दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध कडा रुपमा सशक्त रुपमा प्रस्तुत हुने भनेर निर्णय गरेको अर्को दिन युवा नेता गगन थापाले प्रधानमन्त्री ओलीमाथि हमला गरेका छन् ।
गगन थापाले संसदमा बोल्दै गर्दा सत्तापक्षको सिटमा बसेका नेकपाका सांसद एवम् नेता झलनाथ खनालले चासोका साथ सुनेका थिए ।
गगन थापाले संसदमा चार मिनटभित्र दिएको मन्तव्य जस्ताको त्यस्तै
सम्माननीय प्रधानमन्त्री उपचारका क्रममा सिंगापुरमा हुनुहुन्छ । नेपाली कांग्रेस शीघ्रस्वास्थ्य लाभको कामना गर्दछ । हामीले अथक प्रयास गरेर हामीले केही समय अगाडि संसदबाट एउटा कानून पारित गर्यौँ ।
कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोमा लाग्ने उपचार खर्च नेपाल सरकारबाट उपलब्ध हुने छैन । कानूनको पालना गर्नुभएकोमा प्रधानमन्त्रीजीप्रति हार्दिक आभार प्रकट गर्छु । नागरिकको यस विषयका चासोहरूलाई प्रधानमन्त्रीले उपयुक्त समयमा बाताउनु हुनेछ ।
प्रधानमन्त्रीको उपचारको विषयमा यथार्थ जानकारी सरकारले संसदलाई गराएको छैन । जनताले आफ्नो प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा जानकारी पाउनुपर्छ । प्रधानमन्त्रीको निजी चिकित्सकलाई उदृत गरेर छापाहरूमा आएको सीमित सूचनाको आधारमा यो अनुमान लगाउन सकिन्छ– प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ । हामी चाहन्छौँ सम्पूर्ण सुधार होस् । मिर्गौला प्रत्यारोपण गर्न गएका प्रधानमन्त्री ईच्छाशक्ति, क्रियाशीलता, योगदान संसारका लागि नमूना बनोस् ।
तर, केही चिकित्सकहरूले संकेत गर्नुभएको जस्तो प्रधानमन्त्रीलाई अहिलेको जस्तो उपचार अर्थात पटक–पटक विदेशमा गएर केही समय विश्राम गरेर उपचार गर्नुपर्ने भयो भने चाहिँ के गर्ने ? संविधानको धारा ७५ अनुसार नेपालको कार्यकारी अधिकार मन्त्रिपरिषदमा निहीत हुनेछ र मन्त्रिपरिषदको प्रमुख प्रधानमन्त्री हुनेछ ।
संसदीय पद्धतिमा संसदको कामको सिर्जना पनि प्रधानमन्त्रीबाटै हुन्छ । प्रधानमन्त्री सेरेमोनियल पोजिशन होइन । डे टु डे जिम्मेवारी प्रधानमन्त्री निर्वाह गर्नुपर्दछ । पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यबोझ बढाइएको छ ।
हाम्रो प्रधानमन्त्रीजीले गर्ने यी सबै कुराको ईच्छाशक्ति राख्नु हुन्छ भन्ने कुरामा दुई मत छैन । तर ईच्छाशक्तिमात्रै सबै कुरा होइन । शारीरिक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ । प्रधानमन्त्री राष्ट्रिय सुरक्षा, अखण्डता, सार्वभौमसत्ताको कस्डुनियन हुनुहुन्छ ।
कार्यकारिणी प्रमुख एकै पटक लामो समयसम्म देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न त छदै छ । प्रत्येक दुई–तीन महिनामा १०–१२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरूको ब्रिफिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन सक्दैन ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भएको भए फेरि निर्वाचनमा जानुपर्ने आउँछ भनेर कष्ट दिएर भए पनि प्रधानमन्त्रीको निरन्तरताको अपेक्षा राख्ने कुरा स्वभाविक हुन्थ्यो । तर, अवस्था यहाँ त्यस्तो छैन ।
यहाँ नेपाल कम्युनिस्ट पार्टीको बहुमत छ । सजिलैसँग संसदले नयाँ प्रधानमन्त्री छान्न सक्छ । एकसे एक प्रधानमन्त्री हुनुभएको व्यक्ति यो पार्टीमा हुनुहुन्छ । प्रधानमन्त्री हुन ईच्छा राख्ने व्यक्तिहरू हुनुहुन्छ । यस्तो बेलामा हामीले विश्राम लिन किन चाही रहेका छैनौँ ? मैले धेरै पटक नेपाल कम्युनिस्ट पार्टीका युवा सांसदहरूले
प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि ‘बा’ सरह हो । हामी हाम्रो ‘बा’ बिरामी हुनुभएको भए के भन्थ्यौँ ? ‘बा’ धपेडी नगर्नुस् । ‘बा’ आराम गर्नुस् । ‘बा’ बिश्राम लिनुस् । हामी हाम्रो ‘बा’लाई त्यसो भन्छौँ ।
तपाई प्रधानमन्त्री ‘बा’लाई यसो भन्न किन सक्नु हुन्न ? यो म कसैलाई मात्रै भनिरहेको छैन । यो गल्ती हामीले पनि गर्यौँ । यो अन्याय हिजो हामीले पनि गर्यौँ । र, सबैभन्दा नजिक बस्ने मानिसले यो अन्याय गर्यो । यो अन्याय तपाईहरू नगर्नुस् । यो गल्ती तपाईहरू नदोहर्याउनुस् ।
प्रधानमन्त्रीलाई बिश्राम गर्न दिनुस् । किन कि नेपालको आन्दोलनमा यत्रो ठूलो योगदान पुर्याउनु भएको नेपालको शान्ति प्रक्रियामा यत्रो ठूलो योगदान पुर्याउनु भएको, यत्रो ठूलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको, यति मात्रै होइन स्वाभीमानको लडाइँमा अथक योद्धाको रुपमा काम गर्नुभएको प्रधानमन्त्री हामी लामो समयसम्म हाम्रो बीचमा अभिभावकको रुपमा देख्न चाहन्छौँ ।
तर, यो कुरा त्यतिखेर मात्र सम्भव छ शरीर सबैको शरीर हो । मन पनि सबैको मन हो । प्रधानमन्त्रीको मनको ईच्छाशक्तिको म प्रशंसा गदछु । मफेरि पनि कामना गर्दछु । त्यहाँबाट फर्के आइसके पछाडि सम्माननीय प्रधानमन्त्रीले यो रोष्टममा उभिएर हामीलाई बताइदिने अवस्था बनोस् । हामी सबै प्रार्थना गर्छौं । कामना गर्छौं ।
कि म लगातार कुनै बिश्राम नलिइकन काम गर्न सक्ने अवस्थामा छु । म आवश्यक्ता पर्दै गर्दा भिजलान्ट भएर ट्वान्टीफोर हावर काम गर्न सक्ने अवस्था आओस म प्रार्थना गर्छु । तर, यस्तो अवस्था आउँदैन भने म सबैलाई आग्रह गर्न चाहन्छु ।
यो कुरा सुन्दै गर्दा कतिलाई रिस पनि उठ्ला । तर, कुनै व्यक्तिगत कुरा होइन । यो देशको कुरा पनि हो । तर, यो देशभन्दा पहिला मानवीय कुरा पनि हो । हामी प्रधानमन्त्री एउटा मान्छे हुनुहुन्छ भन्ने कुरालाई नर्बिसौं । धन्यावाद जय नेपाल ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया