रामहरि खतिवडाले कम्युनिस्टहरूलाई फिस्टे चरासँग तुलाना गरेपछि…
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टीभित्रको विवादलाई मिलाउनुपर्ने समय आएको बताएका छन् ।
युट्युब च्यानल ‘सूत्र टिभी’सँगको अन्तर्वार्ताका क्रममा खतिवडाले कांग्रेसका शीर्ष नेताहरूका बीच देखिएका मतभेदलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।
‘म कुनै पनि गुट मान्दैन । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला सबै नेताहरू हाम्रै पार्टीका नेता हुनुहुन्छ’, उनले भने, ‘उहाँभित्र कुनै कुरा छ भने छुट्टै कुरा हो । होइन भने उहाँहरू देश र पार्टीका लागि एक ठाउँमा आउनुपर्छ । त्यसको प्रारम्भ पनि भएको छ ।’
युवा नेता खतिवडाले संसदमा नेपाली कांग्रेसको भूमिका कमजोर भएको भनेर लाग्ने गरेको आलोचनामा केही सत्यता रहेको बताए । ‘कांग्रेसले सदनमा आफूलाई सशक्त रुपमा प्रस्तुत गरेको छ’, उनले भने, ‘कांग्रेसले जनताका कुरालाई सदनमा जोडदार रुपमा उठाएको छ ।’
खतिवडाले कम्युनिस्टहरूले जस्तो सडकमा गएर रेलिङ भाँच्नेदेखि अर्थमन्त्रीको बजेट खोसेर अराजकता कहिल्यै पनि मच्चाउन नसक्ने बताए । कांग्रेसले शान्तिपूर्ण र अनुशासित रहेर कडा रुपमा सदनमा आफूलाई प्रस्तुत गर्ने गरेको उनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको आलोचना गरेका खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई कांग्रेसले सहयोग गर्दा समेत काम गर्न नसकेको बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा संविधान कार्यान्वयन गरेका कारण खड्गप्रसाद ओली प्रधानमन्त्री बन्न पाएको उनले बताए ।
‘बोलेको नबुझिने शेरबहादुर देउवाले निर्वाचन गराएपछि खड्गप्रसाद ओली प्रधानमन्त्री बन्नुभयो’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘देउवाको कुरा बुझिदैन । ओलीको कुरा बुझिन्छ । काम बुझिदैन ।’
खतिवडाले नेपाली कांग्रेसको नेतृत्वमा जनआन्दोलन गरेर देशमा गणतन्त्र ल्याएको बताए । ‘कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा जनआन्दोलन हुँदै गर्दा खड्गप्रसाद ओलीले ठेलागाडा चढेर अमेरिका पुगिदैन भन्दै हुनुहुन्थ्यो । अहिले गणतन्त्र ओलीजीलाई सबैभन्दा धेरै माया लागेको छ ।’
गणतन्त्र कम्युनिस्टहरूले ल्याएको भन्ने कुरा कसैले पत्याउँदैन । ‘कांग्रेसले विधानबाट राजसंस्था हटाएर गणतन्त्र राखेपछि देशमा गणतन्त्र आएको हो’, उनले भने, ‘१७ हजार मान्छेको ज्यान लिएर यो गणतन्त्र आएको होइन । कांग्रेसले ल्याएको हो ।’
‘गणतन्त्र आउनेवित्तिकै पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभयो । नेपाली सेनाको प्रधानसेनापति हटाउन नसक्ने । पशुपतिनाथको पुजारी हटाउन नसक्नेले गणतन्त्र ल्याए भन्नु फिस्टे चरोले बाँसको टुप्पो निहुराएको जस्तै हो’, उनले भने, ‘एउटा फिस्टे चारोले आमालाई भनेछ आमा हेर्नुस् त मैले बाँसको टुप्पो निहुराएको छुभन्दा आमाले भनिछन्, तेरो खुट्टी देखेर थाहा पाएँ । कम्युनिस्टले गणतन्त्रका बारेमा गर्ने दाबी यस्तै हुन् ।’
राजसंस्था ब्युतिने अवस्था नरहेको उनले बताए । ‘नेपाली कांग्रेसले धार्मिक स्वतन्त्रता भनेको छ’, उनले भने, ‘राजसंस्था अहिले नै ब्युतिन्छ भन्ने मलाई लाग्दैन ।’
कम्युनिस्टहरूले जनतालाई झुक्काएर ढाँट्ने गरेको उनले बताए । नेकपाभित्र विवाद रहेको उनले बताए । ‘कांग्रेसमा पनि विचारको विभेद छ’, उनले भने, ‘नेकपामा जस्तो कांग्रेसभित्र छैन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया