काबुलमा रोल्पा र चितवनका दुई नेपालीको ज्यान गयो

काठमाडौं । अफगानिस्तानमा भएको बम बिस्फोटमा दुई जना नेपालीहरूको ज्यान गएको छ ।

काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको हो । बम बिस्फोटबाट एक सय १९ जना घाइते छन् ।

पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत बम हमलामा २ नेपालीको ज्यान गएको अनौपचारिक जानकारी आएको बताएको छ ।

केही समय यता अफगानिस्तान समेत दिल्ली दूतावासले हेर्ने गरेको छ ।

बम बिस्फोटमा ज्यान गएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको गार्दा वर्ल्ड नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए ।

घाइतेमा कोही पनि नेपाली नरहेको स्रोतले जनाएको छ । सोही स्थानमा लामो समय काम गरेर करीब पाँच महिनाअघि फर्किएका एक नेपालीका अनुसार त्यति बेला त्यहाँ करिब ११८ जना नेपाली र केही नेपाली भाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा तैनाथ थिए ।

बिस्फोटमा परी १२ जना अफगानी र २ जना अर्को देशका सुरक्षा गार्डको पनि ज्यान गएको छ ।

बिस्फोटका लागि ट्रक नै प्रयोग गरिएको त्यहाँ कार्यरत एक नेपाली साथीले बताएका छन् ।

स्रोतका अनुसार बिस्फोटमा परी चितवन घर भएका कृष्ण थापा र रोल्पा घर भएका चन्द्र पुनको ज्यान गएको छ । थापा र पुन दुवैको घटनास्थलमा नै ज्यान गएको थियो ।

Published : Wednesday, 2019 September 4, 6:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया