कांग्रेस बैठकमा कम्युनिस्ट सरकारको ‘काण्ड’हरूको सूची पेस, छक्कै परे नेताहरू

काठमाडौं । नेपाली कांग्रेसले दुईतिहाइको कम्युनिस्ट सरकारले वाइड बडी, सुन, चिनी, बालुवाटार र मेलम्ची काण्ड गरेको भन्दै छानविनको माग गरेको छ ।

नेताहरूका अनुसार कम्युनिस्ट सरकारका कारण जनता आजित बनेको भन्दै कांग्रेसभित्र भ्रष्टाचार र अनियमितताको सूची बनाएर कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल शुरू भएको छ ।

ललितपुरको सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सहमहामन्त्री डा.प्रकाश शरण महतद्वारा पेस गरिएको राजनीतिक प्रस्तावमा कम्युनिस्टहरू चरम भ्रष्टाचारमा फसेको आरोप लगाएका हुन् । उनले केन्द्र, प्रदेश र स्थानीय तहमा अत्याधिक भ्रष्टाचार बढेको बताएका छन् ।

उनले भनेका छन्, ‘दुईतिहाइ बहुमतको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूमा मौलाउँदै गएको संस्थागत भ्रष्टाचार, सार्वजनिक सम्पत्तिको दुरुपयोग, जनतालाई दिनपर्ने सेवा, सुविधा र विकास निर्माणमा देखिएको भेदभाव र ढिलासुस्ती तत्काल बन्द गर्न यो बैठक माग गर्छ ।’

सरकारमा बस्नेहरूमा संवैधानिक व्यवस्था, लोकतान्त्रिक मूल्यमान्यतालाई अवमूल्यन गर्ने प्रवृत्ति बढेको नेपाली कांग्रेसका सहमहामन्त्री डा.महतद्वारा पेस गरिएको प्रस्तावमा उल्लेख छ ।

कम्युनिस्ट सरकारका असफलतालाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीको रुपमा चित्रित नगर्न उनले आग्रह गरेका छन् ।

नेपाली कांग्रेसले भिडियो कलबाट मन्त्रिपरिषद् बैठक गरेकोमा विरोध गरेको छ ।

मन्त्रिपरिषद् बैठकसम्बन्धी कार्याविधि तत्काल संशोधन गर्नुपर्ने नेपाली कांग्रेसले माग गरेको छ ।

‘देशको लोकतान्त्रिक पद्धति, राष्ट्रिय सुरक्षा र गोपनीयतासँग जोडिएको विषय भएकाले सरकारको निर्णयप्रति हाम्रो गम्भीर आपत्ति छ’, डा.महतको राजनीतिक प्रस्तावमा उल्लेख छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा.महतले संविधान संशोधनको माग प्रस्तावमा राखेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि सारेको संविधान संशोधनको प्रस्तावलाई अगाडि बढाउन माग गरिको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जनतालाई सबैभन्दा आजित बनाएको विषय भ्रष्टाचार भएको बताएका छन् ।

‘सरकारको आलोचना गरेर मात्र हुँदैन’, केसीले भनेका छन्, ‘कम्युनिस्टहरूको बेथिति रोक्न र अराजकता अन्त्यका लागि नेपाली कांग्रेसले के गर्छ भन्ने भन्न सक्नुपर्छ ।’

केही केन्द्रीय सदस्यहरूले बाइड बडी, सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण लगायतका विषयमा संवैधानिक प्रक्रियाबाट छानविन गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसको मागअनुसार सुनुवाई भएन भने संसद अवरुद्ध गरेर सडकमा प्रदर्शन गर्नुपर्ने सुझाव केन्द्रीय कार्यसमितिमा आएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

000

भाद्र १२, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।

आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केही भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान स्वीकृतिका लागि तथा समयावधि सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुका सन्दर्भमा आवश्यक निर्णय लिन पर्ने र भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता पाउन विभिन्न संस्थाहरुले दिएको निवेदनको विषयमा प्रस्ताव प्रस्तुत गर्नु भएको थियो भने सहमहामन्त्री डा. प्रकाशशरण महतले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

आजको बैठकमा स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने प्रस्ताव पनि प्रस्तुत भएको छ ।

(१) समवेदना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकका पिता ८७ वर्षीय डा. प्रयागदत्त लेखकको भाद्र ७ गते; नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि, काभ्रेका पूर्व कोषाध्यक्ष, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं शंकरदेव क्याम्पस स्ववियुका पूर्व सभापति मनोहर गोपाल श्रेष्ठ; नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका सभापति कविराज पण्डितको ९० वर्षीया ममतामयी माता रत्नकला पण्डित; दाङ जिल्ला साविक नारायणपुर गाविस १ कार्यसमितिका पूर्व सभापति वीरेन्द्र पाण्डेको भाद्र १० गते; धनुषा बटेश्वर गापा १ का ६२ वर्षीय लक्ष्मीनिवासका पूर्व सभापति रामनारायण महतो; नेपाली नाट्यकलाको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएकी वरिष्ठ चलचित्र अभिनेत्री सुभद्रा अधिकारी; वरिष्ठ चलिचित्र निर्देशक किशोर राणा; चित्रकार स्वयंप्रकाश श्रेष्ठ (धरान) र वरिष्ठ तवलाबादक रविन्द्रलाल श्रेष्ठको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।

(२) आजको बैठकमा केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

(३) केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ भाद्र १३ गते विहान ११:०० बजे पुनः बस्नेछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Published : Thursday, 2019 August 29, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया