चितवनमा अर्को ठूलो प्रदर्शन, रवि लामिछानेका समर्थकलाई चुनौती
भरतपुर । शालिकराम पुडासैनी काण्डमा पक्राउ परेका रवि लामिछानेका समर्थकले दिनदिनै प्रदर्शन गर्न थालेपछि चितवनका होटेल व्यवसायीहरूले ‘चितवन सुरक्षित छ’ भन्दै शान्ति र्याली निकालेका छन् ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनले सोमबार बिहान चितवनमा भइरहेको पछिल्लो घटनाक्रमले देशभर नकारात्मक सन्देश गएको भन्दै र्याली निकालेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष दीपक ढकालले जानकारी दिए ।
साउन २० गते नारायणगढको पोखरा बसपार्कमा रहेको कंगारु होटलमा पत्रकार शालिकराम पुडासैनीले ज्यान दिएपछि विषयले अर्कै रुप लिएको थियो ।
सामाजिक सञ्जालमा चितवन सुरक्षित छैन भन्ने अफवाह फैलिएकाले त्यसलाई चिर्न सोमबार शान्ति र्याली निकालिएको ढकालले बताए ।
‘पछिल्लो घटनापछि सामाजिक सञ्जालमार्फत चितवन सुरक्षित छैन भनेर जुन अफवाह फैलिएको छ त्यसैलाई चिर्न हामीले शान्ति र्याली निकालेका हौँ’, अध्यक्ष ढकालले बताएका छन् ।
उनले चितवन सुरक्षित रहेको र होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू पर्यटकलाई स्वागत गर्न सधैं तयार रहेको बताए ।
उनले चितवनका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू आफ्नो पाहुनालाई सुरक्षित रुपमा राख्न प्रतिवद्ध रहेको पनि बताएका छन् ।
सामाजिक सञ्जालमा भनिएको जस्तो चितवन असुरक्षित भन्ने केबल हल्ला मात्र भएको भन्दै त्यस्ता हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् ।
संघका अध्यक्ष ढकालले प्रशासनलाई पनि शान्ति सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् ।
पुडासैनीले ज्यान दिएको प्रकारणमा स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन् ।
घटनाको दोषी छिट्टै पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको माग रहेको ढकालले बताए ।
पोखरा बसपार्क नारायणगढबाट निस्किएको शान्ति र्याली पुलचोक, चौविसकोठी हुँदै केन्द्रीय बस टर्मिनल भरतपुर पुगी फेरि चौविसकोठी पुगेर समापन भएको ढकालले जानकारी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया