हनुमानले जस्तै कांग्रेसले आफूभित्र रहेको शक्ति थाहा पाएनः रामचन्द्र पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसर्लाइ जनताले भरोसा गर्ने पार्टी बनाउनुपर्ने बताएका छन् ।

पोखरोमा आयोजित कांग्रेसको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कांग्रेसबाट सबै जनताको सुरक्षा हुन्छ भन्ने पार्टी बनाउनुपर्ने बताए ।

‘जनताले विश्वास गर्ने पार्टी बनाउनुपर्छ । पार्टीभित्र के–के कमजोरी छन् त्यसको अन्त्य गर्नुपर्छ’, उनले भने, ‘कमीकमजोरीलाई हटाएर नयाँ पार्टी बनाउनुपर्छ । संगठन निर्माण गर्नुपर्छ ।’

वरिष्ठ नेता पौडेलले नेपाली जनता कम्युनिस्टबाट आजित बनेको बताए । ‘जनताले कम्युनिस्टलाई किन भोट दियौँ भनेर दुःख मानेका छन्’, उनले भने, ‘जनताले फेरि भोट दिन्छन् भनेर प्रशिक्षण गरिएको होइन । हिजोका कमीकमजोरीलाई हटाउनुपर्छ । संगठनलाई नयाँ रुप दिन सक्नुपर्छ ।’

कम्युनिस्टको समाजवादको नारा खोक्रो भएको नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले बताए । ‘कम्युनिस्टहरूको विश्वमा असफल भएको समाजवादलाई नेपालमा ल्याइएको छ’, उनले भने, ‘जनतालाई कम्युनिस्टले निर्वाचनमा समाजवादको नाराले झुक्काएका छन् ।’

नेपाली कांग्रेसका नेता पौडेलले अब कांग्रेसको समाजवादलाई जनतलाई बुझाउनुपर्ने बताए । ‘कम्युनिस्टको समाजवाद असफल भयो भनेर जनतालाई भन्नुपर्छ’, उनले भने, ‘कांग्रेसको समाजवाद नै उपयुक्त छ भनेर भन्नुपर्छ ।’

नेता पौडेलले कम्युनिस्टले संगठनको बलमा निर्वाचन जितेको भन्दै सिद्धान्तको आधारमा कम्युनिस्टहरूले जित्नै नसक्ने बताए ।

नेपाली कांग्रेसका सामु संगठन बनाउने चुनौती रहेको उनले बताए । ‘कांग्रेस र कम्युनिस्टको सिद्धान्तको बहस हुनुपर्छ । हामी खरो रुपमा उत्रनुपर्छ’, पौडेलले भने, ‘चरित्रको रुपमा पनि उनीहरूभन्दा कांग्रेस खरो हुनुपर्छ ।’

पौडेलले कम्युनिस्टको सरकार बनेपछि मुलुकमा जताततै भ्रष्टाचार मौलाएको बताए । ‘कम्युनिस्टहरूले भ्रष्टाचारका कथा बनाएका छन् । त्यसका विरुद्ध हामी लाग्नुपर्छ’, उनले भने ।

नेपाली कांग्रेससँग अहिले पनि जनताको ठूलो शक्ति रहेको बताएका छन् । उनले हनुमानसँग रहेकाे शक्ति स्वयं हुनमानलाई समेत थाहा नभएकाे जस्तै कांग्रेसलाई पनि आफूसंग कति शक्ति छ भन्ने कुराकाे जानकारी नरहेकाे भन्दै त्यसका लागि जनतामा जानुपर्ने बताए ।

‘हाम्रो शक्ति र ताक कहाँ छ भनेर खोज्नुपर्छ’, वरिष्ठ नेता पौडेलले भने, ‘हनुमानलाई शक्तिको बोध गराए जस्तै नेपाली कांग्रेसको प्रशिक्षणले कांग्रेसको शक्तिको आभाष गराउनेछ ।’

उनले कांग्रेसभित्र गुटबन्दी रहेको स्वीकार गरे । ‘पार्टीलाई भन्दा पनि व्यक्तिलाई बलियो बनाउन गुटबन्धी गरिएको छ’, उनले भने, ‘कांग्रेस सानो शक्ति होइन । सानो सिद्धान्त छैन । ०१७ सालमा वीपीले हरेस खानु भएन । अहिले हामीले हरेस खाने बेला भएको छैन ।’

वरिष्ठ नेता पौडेलले संविधान बनिसकेको अवस्थामा मुलुकले अब नयाँ–नयाँ प्रयोग धान्न नसक्ने बताए । ‘कांग्रेसको नेतृत्वमा संविधान बनाएका छौँ । एउटा बाटोमा हिँडेको छ । अब देशमा शक्ति केन्द्रहरूलाई प्रयोग गर्न दिँदैनौँ’, उनले भनेका छन् ।

वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशन समय गर्नुपर्ने बताएका छन् । ‘समयमा १४औँ महाधिवेशन भएन भने पार्टीलाई धोका हुन्छ’, उनले भने, ‘पार्टीको नयाँ विधान बनेको छ । सबै संरचनाहरू बनाउनुपर्छ ।’

Published : Friday, 2019 August 16, 2:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया