संवैधानिक अधिकारमाथि यो सरकारले धावा बोल्योः रामहरि खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले संविधानले सबै जात, धर्म, संस्कृतिलाई बराबरी स्थानमा राखेको भन्दै सरकारले समावेशिताको सिद्धान्तलाई भुलेर लोकसेवा आयोगलाई विज्ञापन निकाल्न लगाएको आरोप लगाएका छन् ।

गृहजिल्ला ओखलढुंगाको मानेभञ्ज्याङमा बिहीबार वाम्बुले राईहरूको महान पर्व ढङकुमको अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै खतिवडाले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबैलाई बराबरी अधिकार दिएको बताए ।

‘संविधानले समावेशिता र आरक्षणको व्यवस्था गरेको छ’, उनले भने, ‘लोकसेवा आयोगले संविधानलाई उल्लंघन गरेर विज्ञापन निकाल्यो । सरकारकै निर्देशनमा यो कार्य भएको हो । यसको जिम्मेवारी अहिलेको सरकारले लिनुपर्छ ।’

‘सबैको अधिकार सुनिश्चित गर्न आन्दोलन भएको थियो । सोही अनुसारको संविधान बनेको छ’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘कुनै जात वा जातिलाई बाइपास गर्ने गरेर संविधान बनेको छैन । सबैलाई संविधानले बराबरी ठानेको छ ।’

‘संविधान सबैका लागि बनाएका छौँ । लोकसेवा आयोगले समावेशी विज्ञापन ननिकालेर जातजातिको अपमान गर्ने गरेर विज्ञापन निकालेको छ’, उनले भने, ‘सबैलाई हुने गरेर संविधान बनाएको हो । संविधानलाई उल्लंघन गरेर कोही पनि जानु हुँदैन ।’

खतिवडाले मुलुकभित्र सबै जात, धर्म, संस्कृति मिलेर बसेको भन्दै भाषा र संस्कृति बचाउन पनि लाग्नुपर्ने बताए । भाषा र संस्कृतिले नै देशको पहिचान दिनेभन्दै उनले भने, ‘प्रदेश १ को नामाकरण र राजधानीको कुरा उठेको छ । नेकपाको प्रदेश १ को सरकार दुईतिहाइको नजिक छ । प्रदेशको नाम राई, किरात जोडिएर आयो भने नेपाली कांग्रेसले पनि साथ दिनेछ ।’

प्रदेश १ को मुख्यमन्त्री शेरधन राई समेत राई समुदायको भएको भन्दै खतिवडाले भने, ‘मुख्यमन्त्रीजीले पनि प्रदेश १ को नाम र राजधानी बनाउँदा भाषा, धर्म र संस्कृतिलाई पनि ध्यान दिनुपर्छ ।’

उनले संसद र जनतामा फरक कुरा गर्ने बानी त्याग गर्न सत्तारुढ नेकपाका नेताहरूलाई सुझाव दिए । ‘जनता र संसदमा फरक कुरा गर्न नेपाली कांग्रेसले जान्दैन’, उनले भने, ‘जनताको बीचमा बोलेकोक कुरा नेपाली कांग्रेसले पूरा गर्न जानेको छ । झुठ बोल्दैन । नेकपाका साथीहरूले पनि जनता झुक्काउने कुरा नगर्नुस् ।’

कार्यक्रमका प्रमुख अतिथि श्याम राईका साथै दिवस राई, नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवार, सत्तारुढ नेकपाका सांसद यज्ञराज सुनुवार, राष्ट्रिय गानका लेखक ब्याकुल माइला, पत्रकार गजुधन राईलगायतको सहभागिता रहेको थियो ।  

Published : Thursday, 2019 August 15, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया