कांग्रेसका जिल्ला सभापतिहरूको बैठक, सहमति र सहकार्यमा जाेड

काठमाडौं । नेपाली कांग्रेसका झण्डै दुई दर्जन जिल्ला सभापतिहरूको बैठक काठमाडौंमा बसेको छ ।

अनामनगरमा शुक्रबार दिउँसो सभापति शेरबहादुर देउवासँग रिसाएका जिल्ला सभापतिहरूको उपस्थिति रहेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला निकटका जिल्ला सभापतिहरू बैठकमा सहभागी थिए ।

बैठकमा जिल्ला सभापतिहरू जगदीश्वर नरसिंह केसी, सबुजकृष्ण बानियाँ, विकास लामा, मधु आचार्य, अमर पुन, खड्गबहादुर शाही, कर्ण मल्ल लगायत १९ जनाको सहभागिता रहेको थियो ।

बैठकमा संस्थापन पक्षबाट आफूहरूलाई पेल्न खोजिएको सभापतिहरूले बताएका थिए । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले १४औँ महाधिवेशन, पार्टीको नयाँ विधान र अन्य विविध विषयमा छलफल भएको जानकारी दिए ।

जिल्ला सभापतिहरूले बैठकमा डडेलधुरामा नेपाल महिला संघ विघठन भएको बारेमा पनि छलफल गरेका थिए । उनीहरूले संस्थापन पक्षले निर्वाचित कार्यसमितिलाई विठन गरिएको विषयलाई आपत्ति जनाएका थिए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका बेला जिल्ला सभापतिहरूको बैठक बसेको हो । जिल्ला सभापतिहरूले संस्थापन पक्षलाई दवाव दिएर पार्टी सुधारका कामहरू गर्नेछ ।

नुवाकोट कांग्रेसका सभापति केसीले भने, ‘पार्टीलाई बलियो बनाउने दायित्व हामी सबैको हो । केन्द्रीय नेतृत्व मनपरी ढंगले हिँड्न पाउँदैन । विधान र सहमतिका कुरालाई ध्यान दिनुपर्छ ।’

जिल्ला सभापतिहरूले केन्द्रीय नेताहरूलाई सहमति, सहकार्य र विधिका साथ अगाडि बढ्न सुझाव दिएका छन् ।

Published : Friday, 2019 August 2, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया