अनुशासनमा बस्न नेताहरूलाई दाङ कांग्रेसका सभापतिको निर्देशन, जिल्लाभरि खैलाबैला

घोराही । नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले पार्टीभित्रको अनुशासनलाई विशेष ध्यान दिन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ४ को शुक्रबार तुलसीपुरमा बसेको कार्यसमितिको बैठकमा सभापति खड्काले पार्टीभित्र अनुशासन कायम गर्नुपर्ने बताएका हुन् ।

उनले आगामी दिनमा जिम्मेवार नेता, कार्यकर्ता एवम् भ्रात संघ संस्थामा आबद्ध नेता तथा कार्यकर्ताबाट उछृङ्खल गतिबिधि नगर्न–नगराउन सभापति खड्काले निर्देशन दिए ।

सभापति खड्काले पार्टी र पार्टीका बिभिन्न तह–तप्कामा आबद्ध व्यक्तिले उछृङ्खल गतिविधि गरेको पाएमा बाध्य भई अनुशासनको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन् ।

सभापति खड्काको निर्देशनलाई आधार बनाई नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ४ ले अनुशासनको प्रस्तावलाई पारित गरेको क्षेत्रीय सभापति जगतबहादुर खड्काले जानकारी दिए ।

क्षेत्रीय सभापति खड्काको सभापतित्वमा बसेको बैठकले तुलसीपुरस्थित वीपी कोइरालाको अर्धकदको शालिकलाई पूर्णकद बनाइ सोही चौकमा राख्ने निर्णय भएको छ ।

भदौ महिनाभित्र वीपीको शालिक अनावरण गर्ने र त्यसका लागि आर्थिक संकलनलाई तीव्र पार्ने निर्णय पनि भएको छ ।

कांग्रेसका क्षेत्रीय सभापति खड्काका अनुसार १० हजार रुपियाँदेखिमाथि आर्थिक सहयोग गर्ने दाताको नाम शिलालेखमा लेखिनेछ ।

नेपाली कांग्रेस क्षेत्र नम्वर ४ को पार्टी कार्यालय रहेको जग्गा निःशुल्क उपलब्ध गराउने तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बरुवागाँउका स्व.फल्कुदत्त धिताल र स्व.ईन्द्रादेवी धितालका छोराहरू बामदेव धिताल, देवराज धिताल, जानकीप्रसाद धिताल र हुमराज धिताललाई सम्मान गर्ने निर्णय गरिएको क्षेत्रीय सचिव चूर्णबहादुर चौधरीले जानकारी दिए ।

धिताल परिवारले नेपाली कांग्रेस पार्टीका लागि ०५० पुस २२ गते १ कठ्ठा ९ धुर जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

उनीहरूको सहयोगलाई उच्च सम्मान गर्दै धिताल परिवारलाई सम्मान गरिनेछ ।

क्रियाशील प्रमाण पत्र साउनको मसान्तसम्म संकलन गरी जिल्ला कार्यसमितिमा पेश गर्ने निर्णय गरिएको सचिव चौधरीले जानकारी दिए ।

शान्ति सुरक्षा, विकास र सुशासन प्रवर्द्धनका लागि नेपाली कांग्रेस दाङले जिल्ला, गाँउ, टोलसम्म अभियान सञ्चालन गर्ने गरी तयारीमा जुट्ने निर्णय समेत गरिएको नेपाली कांग्रेस दाङ क्षेत्र नम्वर ४ ले जानकारी दिएको छ ।

क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरूले पार्टीको हाताभित्र वृक्षारोपण पनि गरेका छन् । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खिमबहादुर वलीले गरेका थिए ।

Published : Friday, 2019 August 2, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया