अष्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु

सिड्नी । अस्ट्रेलियामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थी स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

कारमा पाँच जना सवार थिए । स्यबाङ्जा वालिङ नगरपालिका १० की समीक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको मृत्यु भएको छ ।

सिड्नीबाट शनिबार साँझपख हिँडेको नेपाली विद्यार्थीको टोली राति उडन रिजर्भमा गएर क्याम्पिङ गरेर बसेको थियो ।

पन्ध्र जना विद्यार्थीको समूह तीन वटा कारमा हिउँ खेल्न सिड्नीबाट स्नोइ माउन्टेन गएका थिए ।

बिहान दुई बजेतिर नै उठेर एउटा कारमा स्नोइ माउन्टेनतिर लागेका थिए । सोही समूहको कार बिहान पखको तीन बजे तीस मिनेट जाँदा दुर्घटनामा परेको थियो ।

घाइते तीन जना विद्यार्थीमा अस्वीन कँडेलको हस्पिटलबाट डिस्चार्ज गरिएको छ ।

संगीत देवकोटा र चालक सागर भट्टराईको भने क्यानबेरा हस्पिटलमा उपचार भैरहेको छ ।

नेपाली राजदूतावासका कार्यवाहक राजदूत द्रुपदा सापकोटाले दुवै मृतक विद्यार्थीको शव पठाउने तयारी भैरहेको बताइन् । उनले हाल दुवै विद्यार्थीको शव फोरेन्सिक जाँचका लागि हस्पिटलमै रहेको र जाँच सकिएलगत्तै आगामी शुक्रबार या शनिबार नेपाल पठाउने तयारी गरिरहेको बताइन् ।

समीक्षा सुवेदी सिड्नीको क्वीन्सफोर्ड कलेजमा अध्ययनरत थिइन् । भण्डारी एटीआइटीमा अध्ययन गरेको दूतावासले जनाएको छ ।

Published : Wednesday, 2019 July 31, 10:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया