समाचारले हाम्रो चरित्र हत्या भयो, राजदूतलाई भेटेको होइन

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले नेकपा (मसाल)का महामन्त्री एवम् आफ्ना पति मोहन विक्रम सिंह र नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीबीच भएको भेटवार्ताको खण्डन गरेकी छिन् ।

प्रेस काउन्सिल नेपालमा रिपब्लिका दैनिकविरुद्ध दिइएको उजुरीमा प्रतिनिधि सभाकी सांसद समेत रहेकी पौडेलले भारतीय राजदूत पुरीसँग कुनैपनि सम्वाद र भेट नभएको दाबी गरेकी छिन् ।

उनले राजदूत पुरीसँग आफूलाई मन्त्री बनाउनका लागि आग्रह गरेको समाचारमा उल्लेख भएअनुसार कुनै पनि सम्वाद नभएको बताएकी छिन् ।

प्रवक्ता पौडेलले आफूहरूको चरित्र हत्या हुने गरेर समाचार आएको भन्दै खण्डन गरेकी छिन् । उनले समाचारमा छापिएको तस्वीरलाई पनि अस्वीकार गरेकी छिन् ।

यद्यपि, रिपब्लिका दैनिकले नेपालका लागि भारतीय राजदूत पुरी र नेकपा (मसाल)का महामन्त्री सिंह तथा पौडेलले ललितपुरको एक पार्टी प्यालेसको कार्यक्रमको पहिलो तलाको कोठामा भेटेको ४–५ वटा सक्कली तस्वीर फेला पारेको छ । ती तस्वीरहरूमा राजदूत पुरी, महामन्त्री सिंह र प्रवक्ता एवम् सांसद पौडेलले एकआपसमा सम्वाद गरेको प्रत्यक्ष देख्न सकिन्छ ।

राजदूत पुरी, महामन्त्री सिंह र प्रवक्ता एवम् सांसद पौडेलबीच भएको भेटवार्ताको तस्वीरसहितको समाचार यूनाइटेड पोस्ट साप्ताहिकले प्रकाशित गरेको थियो । सो समाचारलाई साप्ताहिकसँगको सहकार्य र सहमतिअनुसार रिपब्लिका दैनिकले साभार गरेर प्रकाशित गरेको थियो ।

रिपब्लिका दैनिकले समाचार र तस्वीरका बारेमा यूनाइटेड पोस्ट साप्ताहिकका सम्पादकसँग सम्पर्क गर्दा तस्वीर आफूहरूसँग सुरक्षित रहेको र ती तस्वीरको सत्यतामा कुनै पनि आशंका नगर्न आग्रह गरिएको छ ।

राजदूत पुरी, महामन्त्री सिंह र पौडेलबीच भएको सम्वादका बारेमा रिपब्लिका दैनिकलाई पनि कुनै जानकारी छैन । तर, उहाँहरूबीच भेट भएको सत्य हो । तस्वीरले पनि पुष्टि गर्छ ।

साभार गरिएको समाचारका केही शब्दावली र अन्य भाषागत त्रुटिप्रति रिपब्लिका दैनिक क्षमाप्रार्थी छ । तस्वीर र भेटको समाचारप्रति आफ्नो अडानमा रहेको छ ।

प्रेस काउन्सिलको निर्देशनअनुसार रिपब्लिका दैनिकले पीडित पक्षको मागअनुसार स्पष्टीकरणसहित खण्डन प्रकाशित भएको छ ।

Published : Tuesday, 2019 July 30, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया