ओली सरकारले लोकतन्त्रलाई संकुचित गरेको छः राजकिशोर यादव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयोजक राजकिशोर यादवले सरकारले सर्लाहीमा भएको गैरन्यायिक हत्याको छानविन गर्न संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे ।

‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाइरहेका छौं’, उनले भने, ‘अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन । सोमबार पनि समिति गठन नगरे संसद चल्दैन ।’

संयोजक यादवले तत्काल संसदीय समिति गठन गर्नुपर्ने आफूहरूको अडान कायमै रहेको बताएका छन् ।

संयोजक यादवले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उनले भने, ‘हामी पार्टीको महाधिवेशन निर्धारित मिति कात्तिक २८, २९ र ३० गते नै गर्छौं । हाम्रो मुख्य ध्यान नै त्यतातर्फ छ ।’

यादवले वर्तमान सरकार मनोमानी र एकलौटी ढंगले अगाडि बढेको आरोप लगाएका छन् । उनले भने, ‘यो सरकारले लोकतन्त्रलाई संकुचित गर्दै अघि बढेको छ ।’

वर्तमान सरकारसँग देश र जनताको हित र पक्षमा काम गर्नसक्ने अवसर रहेको पनि त्यसलाई सदुपयोग गर्न नसकेको राजपाका संयोजक यादवले बताए ।

उनले भने, ‘यो सरकारसँग देश र जनताको पक्षमा काम गर्ने ऐतिहासिक अवसर थियो । डिपार्चरको काम गर्नुपर्दथ्यो । तर, सरकारले विश्वास जगाउन सकेन् ।’

सरकार दिनहुँ काण्डै काण्डमा फसेको पनि यादवको आरोप छ । ‘देशको आर्थिक अवस्थामा गम्भिर समस्या छ’, उनले भने, ‘अर्थतन्त्र कमजोर भएको छ । संचिति रकमले जम्मा ८ महिनाभन्दा बढी धान्न सक्ने अवस्था छैन् । अब यसलाई साधारण प्रक्रियाबाट धान्न सकिने अवस्था छैन् ।’

Published : Sunday, 2019 July 28, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया