तराईको डुबान रोक्न प्राधिकरण बनाऔँः राजकिशोर यादव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयोजक समेत रहेका सांसद राजकिशोर यादवले प्रत्येक वर्ष मनसुनको समयमा आउने अविरल वर्षाका कारण तराईका अधिकांस क्षेत्र डुबानमा पर्ने भएकाले त्यसको स्थायी समाधान खोजिनुपर्ने माग राखेका छन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको वैठकमा छलफलमा सहभागी हुँदै यादवले तराईसहित देशभरिको बाढी र पहिलोको समस्या समाधानका लागि दीर्घकालीन उपाय खोजिनुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गरेका थिए । सो प्रस्तावलाई समर्थन गर्ने क्रममा यादवले भने, ‘यो कुनै अपरझट आउने या आएको विपद होइन ।’

‘प्रत्येक वर्ष मनसुनको बेला हाम्रो नेपाली भुबनोटका कारण पहाडमा पहिरो र मधेषमा डुबान निश्चित जस्तै हुन्छ। यसका लागि जसरी तयारी गर्नुपर्ने थियो, त्यो गरिएन’, संयोजक यादवले भने, ‘हामीले समितिमा ध्यानाकर्षण गराएका थियौं । तर जुन सम्बेदनशीलताका साथ सरकारले तयारी गर्नुपर्ने थियो । त्यो हुन सकेन ।’

पहाडमा भुँइचालो जाँदा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण बनाएर स्थायी विकल्पको व्यवस्था गरे जस्तै मधेशमा पनि प्रत्येक वर्ष आउने बाढीका लागि बाढीपीडित प्राधिकरण बनाएर क्षति न्युनिकरण तथा जल उपयोगका लागि दीर्घकालिन वैज्ञानिक उपाय खोज्नुपर्ने उनले माग गरेका छन् ।

उनले बाढी र पहिरोको कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र आश्रित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थयलाभको कामना गरेका छन् ।

विपदमा परेका नेपाली जनतालाई उद्धार तथा राहतको तत्काल व्यवस्था गर्न यादवले सरकारसँग माग गरेका छन् ।

‘अहिले अविरल वर्षाका कारण तराई मधेश डुबान भएको छ’, उनले भने, ‘सबभन्दा पहिला अहिले जनताको पीडामा कसरी मलम लगाउन सकिन्छ । सकरकार सम्बेदनसील भएर लाग्नुपर्छ ।’

‘हामी जनप्रतिनिधिले पनि आफ्नोतर्फबाट भूमिका खेल्न तयार रहेको सदनलाई जानकारी गराउँछु’, उनले भनेका छन् ।

‘समयमै तयारी नहुँदा विपदका बेला के गरौं कसो गरौैँ भन्ने अवस्थामा छ’, उनले भने, ‘अनि झारो टार्ने जसरी हामी काम गर्छौ । यसले हामी सही निश्कर्षमा पुग्न सक्दैनौं ।’

उनले भने, ‘यसलाई समग्रतामा सोच्नुपर्ने आवस्यकता छ । अहिलेको जस्तो अव्यवहारिक र अवैज्ञानिक सहरीकरण, अव्यवस्थित बसाइसराइ, चुरेको दोहन, नदीबाट जथाभावी ढुंगा–बालुवा निकाल्ने काम भएका छन्। जसका कारण क्षति झन बढेको हो ।’

‘सरकारले समय रहँदै यता ध्यान दिएको भए क्षति कम गर्न सकिन्थ्यो’, यादवले भने, ‘यत्रो प्रचण्ड बहुमत भएको सकरारको त्यता ध्यान गएन ।’

Published : Thursday, 2019 July 25, 7:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया