कांग्रेसले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम चलाउने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउनको तेस्रो सातादेखि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानको आइतबार ललितपुरको सानेपामा बसेको बैठकले ७ वटै प्रदेशमा महाधिवेशन प्रतिनिधिका लागि २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘७ वटै प्रदेशका १२ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम सावण १६ गतेदेखि संचालन गर्नेछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

‘डा.जगदीश चन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समितिको गठन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । समितिको सदस्यहरूमा डा.आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा रहेका छन् ।

तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरिएको छ । समितिको सदस्यहरूमा भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन रहेका छन् ।

प्रतिष्ठानले खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरूमा सुभाष पोखरेल, डा.प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल रहेका छन् ।

नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौंमा गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ ।

Published : Sunday, 2019 July 21, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया