धादिङमा वडा सदस्यमाथि गोली प्रहार
धादिङ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ८ का वडा सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ ।
बेनिघाट रोराङको गोठीभञ्ज्याङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको बेला चेपाङमाथि गोली प्रहार भएको हो ।
टाउकोमा गोली लागेर गम्भीर घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिएका छन् ।
गोली लागेर गम्भीर घाइते भएका चेपाङलाई गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी आफैंले उपचारको लागि काठमाडौं लगेका थिए ।
घाइतेको अवस्था चिन्ताजनक रहेको अध्यक्ष डल्लाकोटीले बताएका छन् ।
रामजीलाई चितवनको राप्ती नगरपालिका वडा नम्बर १३ गाम्दा निवासी ईन्द्रबहादुर चेपाङले गोली हानेको परिवारजनले आरोप लगाएका छन् ।
दुई महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीलाई बलात्कार प्रयास गरेपछि मुद्दा लागेर फरार रहेका इन्द्रले नै २ नाले भरुवा बन्दुकले गोली प्रहार गरेको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
बलात्कार मुद्दामा आफूलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको रिसइबीमा गोली हानेको हुन सक्ने परिवारजनले बताएका छन् । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया