केन्द्रको गुट अन्त्य गर्‍यौँ भने कांग्रेसलाई कसैले हराउन सक्दैनः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले केन्द्रमा गुट र उपगुटको अन्त्य गर्न गाउँका कार्यकर्ताको सुझाव रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले गुटकै कारण पार्टीभित्र अन्तर्घात भएर आफ्नै दलका आधिकारिक उम्मेदवारहरूलाई हराउने काम भएको बताए । उनले कांग्रेसभित्र सबैभन्दा ठूलो रोग गुट र अन्तर्घातको रहेको बताए ।

‘गुटको रोगले नै कांग्रेसभित्र सबैभन्दा ठूलो अन्तर्घात भयो । गुटले गर्दा अर्को साथीलाई असहयोग भयो’, उनले भने, ‘बाहिर आमसभामा जाँदा मिलेर जानुपर्छ भन्ने सुझाव राष्ट्रिय जागरण अभियानका बेला गाउँबाट आएको छ ।’

उनले भने, ‘विवादका कुरा बैठकभित्र राख्ने हो । जागरण अभियानले कांग्रेसलाई फाइदा भएको छ ।’ जागरण अभियानको सुझावलाई नेतृत्वले ग्रहण गर्नुपर्ने अन्यथा कांग्रेसलाई ठूलो नोक्सानी हुने उनले बताए ।

कांग्रेसले संघीयताअनुसार पार्टीको विधान निर्माण गरेको खतिवडाले बताए । ‘विधानअनुसार नियमावली बनाउने छौँ । भ्रातृ संगठनहरूलाई गठन गरेर गाउँ गाउँमा जाने हो’, नेता खतिवडाले भने, ‘किसान संघको १४–१५ वषदेखि कार्यसमिति बनेको छैन । भ्रातृ संगठनहरू पदाधिकारी बस्ने ठाउँ भएको छ । टाउको छ । शरीर छैन । कसरी संगठनको काम हुन्छ ?’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले पार्टी नेतृत्वको कमजोरीले गर्दा भ्रातृ संगठनहरू निश्क्रिय भएको बताए । उनले पार्टीलाई चलाउने काम एउटा व्यक्तिको मात्रै नभएको पनि बताए । ‘पार्टीभित्र सबै साथीहरूलाई समेटेर जानुपर्ने बाध्यता । नेतृत्वलाई त्यो समस्या पनि छ । अन्य साथीहरूले पनि धेरै विमती राखेर जानु हुँदैन’, खतिवडाले भने, ‘कांग्रेस मिल्यो भने कसैको हराउने ताकत राख्दैन ।’

‘वीपी, गणेशमान, किशुनजीले बनाएको पार्टी भनेर घमण्ड गरेका छौँ’, उनले भने, ‘काम नगर्ने, संगठन पनि नबनाउने हो भने नेताहरूको मात्रै नाम लिएर हुनेवाला छैन ।’

वर्तमान कम्युनिस्ट सरकार अराजक र उग्र बनेर आएको बताएका खतिवडाले संविधानविरुद्धका गतिविधि नगर्न चेतावनी दिएका छन् ।

मुलुकमा हुने कुनै पनि प्रकारको निरंकुशतलाई कांग्रेसले नसहने खतिवडाले बताए । ‘अधिनायकवाद स्वीकार्य छैन । कांग्रेसले राणालाई फाल्यो । राजालाई फाल्यौँ । केपी ओलीको अधिनायकवाद के हो र ?’, उनले प्रश्न गर्दै भने, ‘संविधानले दिएका अधिकारमाथि सकसैले धावा बोल्छ भने उसको सत्यानाश हुनेछ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले पार्टीले दिएको समयभित्र अधिवेशन हुनुपर्ने पक्षमा आफू रहेको बताए । ‘प्रक्रियाअनुसार जानुपर्छ । विधानअनुसार गर्नुपर्छ । पार्टीलाई संघीयतामा लैजाने र जानका लागि तेरो–मेरो भन्नु हुँदैन’, उनले भने, ‘गुट उपगुट र मेरो मान्छे भन्ने कुरा भन्नु हुँदैन । विघठनभन्दा पनि गठनको रुपमा कांग्रेसलाई लैजानुपर्छ ।’

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका नाममा राज्य कोषबाट अर्बौं रुपियाँ भ्रष्टाचार भएको उनले आरोप लगाए । ‘झार गोड्ने, मकै गोड्न काम भएका छन्’, उनले भने, ‘स्वरोजगारका नाममा ‘उल्फाको धन फुपुको श्राद्ध भएको छ ।’ उनले राज्यको ढुकुटी बचाउने बेला आएको पनि बताए ।

उनले भारतीय फिल्मको अवर्डा कार्यक्रम गर्न करोडौँ रुपियाँ दिने कम्युनिस्ट सरकारको कार्यको पनि विरोध गरे । ‘इण्डियन हिरो हिरोइन प्रधानमन्त्रीको अगाडि नचाउँदा पर्यटनको विकास हुँदैन । होली वाइनबाट देशको पर्यटन हुँदैन । प्रधानमन्त्री र मन्त्रीलाई खुसी बनाउन देश विक्री गर्न पाइँदैन’, उनले भने, ‘दैनिक चार अर्ब उडाउने काम भएको छ । साढे दुई अर्ब दश महिनामा भ्रमणका नाममा खर्च भएको छ । युरोप भ्रमणका बेला दैनिक आठ लाख ३३ हजार सकिएको छ ।’

सांसदहरूलाई ल्यापटप दिएर ससदमा बोल्न अबरोध गरिएको नेपाली कांग्रेसका युवा नेता खतिवडाले बताए । ‘ल्यापटप दिएर सांसदहरूको मुखमा बुजो लगाइएको छ’, उनले भने, ‘सांसदहरूले भ्रष्टाचारको कुरा संसदमा उठाउँदैनन् ।’

प्रधानमन्त्री खड्गप्रसाद ओली बोल्न र भाषण गर्न कुशल रहेको भन्दै नेता खतिवडाले भने, ‘उहाँले बोलेको र भाषण गरेको बुझिन्छ । काम गरेको बुझिदैन ।’

विकासका नाममा ओली सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको उनले बताए । ‘काठमाडौंको बौद्धको बाटो बनेको छैन । होली वाइनका बेला ओलीजी होटेल बस्नु भयो । बालुवाटारभित्र सुविधा सम्पन्न घर छ । बाहिर जनताको अवस्था उहाँलाई जानकारी छैन’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘म प्रधानमन्त्री भएपछि आधार जनताले मास्क लगाउन छाडे भन्नुभयो । बौद्धमा गएर हेरे हुन्छ । कलंकीमा हेरे हुन्छ । चक्रपथमा हेरे हुन्छ । ९० प्रतिशत काम सकिएको मेलम्ची भगाउने प्रधानमन्त्रीले समृद्धि र विकासका कुरा गर्ने भनेको हसाउँने कुरा मात्रै हो ।’

Published : Tuesday, 2019 July 2, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया