बलदेव मजगैयाँले लण्डनमा प्रदान गरे अनेवा नक्षत्र पुरस्कार

लण्डन । पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार बलदेव शर्मा मजगैयाँले ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजका क्याप्टेन कैलाश लिम्बुलाई अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानको अनेवा नक्षत्र पुरस्कार २०७५ प्रदान गरेका छन् ।

प्रतिष्ठानद्वारा शनिबार लण्डनमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि मजगैयाँले लिम्बुलाई सो पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारमा प्रमाणपत्रसंगै ६० हजार रुपियाँ नगद पनि प्रदान गरिन्छ ।

लिम्बुको अंग्रेजी पुस्तक गोर्खाका लागि उक्त पुरस्कार प्रदान गरिएको हो । विगत २० वर्षदेखि ब्रिटिश आर्मीमा सेवारत लिम्बुले उक्त पुस्तकमा अफगानिस्तान युद्धभूमिमा बिताएका क्षण, लाहुरे जीवन, आफ्नो संघर्ष, उतारचढाव आदि उल्लेख गरेका छन् ।

गोर्खा पुस्तक सन्डे टाइम्सको टप टेन वेष्ट सेलरमा समेत परेको थियो । ब्रिटिश सेनामा गोर्खा भर्तीको दुईसय वर्ष गांठका अवसरमा सन् २०१५ मा प्रकाशित उक्त पुस्तक लेख्न लिम्बु ब्रिगेड अफ गोर्खाजका कयौं अफिसर मध्येबाट छनोट भएका थिए ।

पुरस्कार ग्रहणपछि लिम्बुले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै यसले आफुलाई थप हौसला प्रदान गरेको बताए । उनले भने, ‘मेरो अर्को कृति पनि छिट्टै प्रकाशनको तयारीमा छ । तपाईंहरूको पुरस्कारले मलाई थप उर्जा मिलेको छ ।’

उनले हालै आफ्नी ममतामयी आमा गुमाएको स्मरण गर्दै सहयोग रकम निसहाय आमाहरूको सेवामा लगाउन प्रतिष्ठानलाई नै फिर्ता गरेका छन् ।

प्रतिष्ठानले स्थापनाकाल २०१२ देखि नै वर्षेनि एक जना श्रष्टालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कारबाट मदन पुरस्कार विजेता अमर न्यौपाने, सांसद शान्ता चौधरी, लेनिन बञ्जाडे, नारायण अमृत लगायत सम्मानित भइसकेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार मजगैयाँले लेखन भावनाबाट प्रेरित भएर आउनुपर्ने बताउँदै लिम्बुको पुस्तकले युद्धभूमिको ताजा स्मरण गराउने बताए ।

मजगैयाँले आफूले पनि पञ्चायतकालमा प्रजातन्त्रका लागि बन्दुक बोकेको स्मरण गर्दै राजा, महाराजाको भन्दा साहित्यकारको नाम युग, युगान्तसम्म जीवन्त रहने बताए ।

प्रतिष्ठानकी महासचिव जया लक्ष्मी राईले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष विकलचन्द्र आचार्यको पुस्तक बेलायतको वित्तीय अवलोकन विमोचन गरिएको छ ।

प्रमुख अतिथि मजगैयाँ र पुरस्कृत श्रष्टा लिम्बुले उक्त पुस्तक विमोचन गरेका थिए ।

पुस्तकमा बेलायतको सय वर्षको आर्थिक परिदृश्य, बैंकिङ प्रणाली, औद्योगिक क्रान्ति, नवउदारवादमा विभाजित अर्थतन्त्र, बेलायतको वित्तीय सामर्थ्य, ब्रेक्जिट, इयू जनमत संग्रह, बैंक लकर, सम्पत्ति शुद्धीकरण आदि विषय समेटिएका छन् ।

कार्यक्रमका सभापति विकलचन्द्र आचार्यले चर्चा बटुलेका श्रष्टामात्र नभई ओझेल परेर साहित्य लेखनमा सक्रिय प्रतिभाहरूलाई समेत उजागर गर्न प्रतिष्ठानले नियमित पुरस्कार प्रदान गर्दै आएको बताए ।

उनले प्रतिष्ठान बेलायतको नेपाली डायस्पोरामा नेपाली भाषा, संस्कृतिको प्रवर्धनमा लागि रहेको पनि जनाए ।

कार्यक्रममा कोषाध्यक्ष गोपी सापकोटाले स्वागत मन्तव्यसहित लिम्बुको पुस्तकको संक्षिप्त परिचय दिएका थिए । उनले आफ्नो अंग्रेजी कृति ‘अ सुसाइड नोट’बाट ‘दि क्रियसन’ शीर्षकको एउटा कविता सुनाए भने महासचिव जया राईले युद्ध मैदानबाट शीर्षकको कविता वाचन गरेकी थिइन् ।

Published : Sunday, 2019 June 30, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया